नेकपा बैठक : पार्टी एकताले स्थानीय तहसम्म पूर्णता नपाएकोमा नेताहरुको गुनासो


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिनुभएको थियो ।

एकता प्रक्रियाले लामो समय लिँदा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको, सङ्गठन भद्रगोल हुँदा पार्टीले जीवन पाउन नसकेको उहाँहरुको जोड थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै स्थायी कमिटी सदस्यहरुले पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने र एकताका कुनै पनि काम बाँकी राख्न नहुने सुझाव दिनुभएको थियो ।

यस्तै पार्टीको कार्ययोजना ठोस रुपमा आउनुपर्ने, एकता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सरकारको काम कारवाहीलाई अझै गति दिनुपर्ने र भए÷गरेका कामको समेत सकारात्मक प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको थियो । स्थायी कमिटीका सदस्यले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज १३ जना स्थायी कमिटी सदस्य तथा आमन्त्रित सदस्यले सुझाव दिनुभएको थियो ।

यसरी सुझाव दिनेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शङ्कर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा हुनुहुन्थ्यो । स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com