अमेरिकाले दियो यस्ता जहाज, नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो अनुदानको भाग


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

अमेरिकाले नेपाली सेनालाई दुई थान नयाँ एम २८ स्काईट्रक हस्तान्तरण गरेको छ । स्काईट्रक सफलतापूर्वक हस्तान्तरण गरेको घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित भएको अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ – ‘यो नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो झन्डै १ करोड ५० लाख डलर अनुदानमध्येको पहिलो भाग हो।’

छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाजमध्ये एक हो । यसले नेपाली सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्‍ने महत्त्वपूर्ण क्षमतालाई सहज बनाउँदै नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्‍चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ ।

अमेरिकाले भनेको छ – ‘आउँदा वर्षहरूमा जगेडा पाटपुर्जा, विमानचालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुदानमा समावेश छन्। आगामी वर्षहरूमा अमेरिकाले थप एम२८ विमान प्रदान गर्नेछ।’

साथै, नेपाली जनतालाई अझै प्रभावकारी ढङ्गबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाका लागि मागअनुसारको तालिम दिइने तथा यो कार्यले नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबिचको सहकार्य र निकट साझेदारी अझै बलियो भएको अमेरिकाको विश्वास छ ।

तस्वीर : अमेरिकी दूतावास, काठमाडौं ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com