उपसभामुखको राजीनामा गराउँदै नेकपा


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन सुरु हनुअघि शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरे ।

शुक्रबारकाे पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र  शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ । सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताए ।

सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरे। संसद् बैठकबाट बाहिरिनुभएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएकी छिन् ।

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गरिन् । यौन दुर्व्यवहार आरोपमा सभामुखबाट राजिनामा दिनुभएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन । सभामुख पद रिक्त हुँदा नेपालको संसदीय  इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उपनिर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसद्मा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए । उनले सभामुख चयनको प्रक्रिया सुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए । यही पुस २ गते सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच आगामी माघ ९ मा हुने राष्ट्रिसभाको निर्वाचनमा चुनावी तालमेल गरेकाले उपसभामुख पद राजपाका उम्मेदवारले पाउन सक्ने आँकलन गरिएको छ ।

शुक्रबारको दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गएको मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीले कतिपय विगतमा जितेका स्थान गुमाउँदा झस्का परेको बताउँदै संसद् बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउन निर्देशन दिए ।

अध्यक्ष दाहालले अमेरिकी सहयोग कर्पोरेसन (एमसिसी) हिन्द प्रशान्त रणननीतिसँग नजोडिएको स्थितिमा अमेरिकी सहयोग स्वीकार्य हुने बताए । उनले भारतसँगको लिपुलेक सीमा विवादबारे सरकारले भारतलाई पत्राचार गरेको र त्यसको जवाफ नआएको बैठकमा जानकारी गराए । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com