अपराध अनुसन्धानबारे छलफल


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो ।

कार्यक्रममा मुलुकको अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, सरकारी मुद्दाको प्रभावकारिताका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयास, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताको विषयमा छलफल हुनेछ ।

अपराध अनुुसन्धानमा मेडिको लिगल र विधि विज्ञानको भूमिका र सुधारका क्षेत्र, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, गोपनीयताको अधिकार र अपराध अनुसन्धान सङ्कलनमा प्रविधिको प्रयोग र अभिलेखमा पहुँचबारे छलफल हुने नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

यस्तै, वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा गर्नुपर्ने सुधार, अपराध अनुसन्धानमा अन्तरदेशीय समन्वय, सरकारी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण सङ्कलन एवं परीक्षणको अवस्थाबारे छलफल हुनेछ । आइतबारसम्म चल्ने सम्मेलनमा शनिबार छ र आइतबार छ समूह बनाएर छलफल तथा कार्यपत्र प्रस्तुत गरिनेछ । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com