सभामुखमा जुटेन सहमति, संसद् बैठक सूचना टाँसेर स्थगित


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ ।

सत्तारुढ नेकपाले उम्मेदवार तय गर्न नसक्दा शुक्रवारको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्काे बैठक निर्धारण गर्नुभएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएपछि सभामुख पद हाल रिक्त छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो दिनको बैठकको अध्यक्षता गर्नुभएको थियो । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com