८ लाख थपेर सेडाईले खर्च गरे भूकम्पपीडितलाई ६५ लाख
प्रकाशित मिति : श्रावण ९, २०७३ आईतबार
भूकम्पपीडितका लागि संकलित रकमको पारदर्शिताबारे आवाज उठिरहेको सन्दर्भमा न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले आफूले संकलन गरेको रकमको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले गोफण्डमीमार्फत ५६ हजार ५ सय ७० अमेरिकी डलर संकलन गरेका थिए ।
उनले १५ महिना अगाडि सुरु गरेको अभियानमा २ सय ७२ जनाले साथ दिएका थिए । उनले संकलित रकम शतप्रतिशत नै भूकम्पपीडितका लागि खर्च गर्ने वाचा गरे अनुरुप आफेले लमजुङको चिती पुगेर भूकम्पपीडित १ सय परिवारलाई १२ हजार डलरको कर्कटपाता लगायतका राहतसामाग्री वितरण गरेका थिए । त्यस्तै २५ सय अमेरिकी डलरको खाद्यान्न र सामाग्री काठमाडौं नजिकै रहेको बोडे क्याम्पका भूकम्पपीडितलाई प्रदान गरेका थिए ।
बोडे क्याम्पका भूकम्पपीडितलाई खाद्यान्न / सामाग्री र लमजुङको चितीका भूकम्पपीडितलाई कर्कटपाता प्रदान गर्ने क्रममा
त्यो बाहेक हिमालयन क्लाइमेट नामको संस्थालाई दुई किस्तागरी ५० हजार अमेरिकी डलर प्रदान गरिसकिएको उनले जनाएका छन् । यो संस्था गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि घर निर्माणकार्यको प्रकृयामा रहेको छ । गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा यो रकम भूकम्पपीडितका ५० वटा घरहरु निर्माणमा लगाइने भएको छ । निर्माणकार्य सन् २०१६ को अन्त्यसम्ममा पूरा हुने कानुन व्यवसायी सेडाईले विश्वास लिएका छन् । उनले भूकम्पपीडितका लागि राहत संकलन अभियानमा साथदिने सबै दाताहरुलाई धन्यवादसमेत दिएका छन् ।
न्युयोर्कको म्यानहटनमा रहेको आफ्नै कानुनी कार्यालयमा कानुन व्यवसायी सेडाई । फोटो : खसोखास
राहत संकलन अभियानबाट ५६ हजार ५ सय ७० संकलन भएकोमा आफूले झण्डै ८ हजार डलर (झण्डै ८ लाख नेपाली रुपैया) थपेर उनले ६४ हजार ५ सय (झण्डै ६५ लाख) भूकम्पपीडितको राहतमा खर्च गरेका छन् ।