अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल, सेना परिचालन
प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार
अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल लागु गरिएको छ भने सेना परिचालन समेत गरिएको छ । त्यहाँका गभर्नरले सेना परिचालन गर्न र संकटकाल लगाउने घोषणामा हस्ताक्षर गरेका हुन् ।
मंगलबार विहान ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प पछि त्यहाँ संकटकालको घोषणा गरिएको हो । भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
भूकम्पले त्यहाँ एकसयबर्षकै सबैभन्दा धेरै क्षति पुराएको छ । सन् १९१८ मा आएको भूकम्पमा त्यहाँ ११८ जनाको ज्यान गएको थियो भने ४ मिलियन डलरको आर्थिक नोक्सान भएको थियो । आजको भूकम्पमा एकसय मिलियन डलर भन्दा धेरैको नोक्सान भएको छ ।
न्युयोर्क समय अनुशार विहान ३ बजेर २४ मिनेट जाँदा उक्त भूकम्प गएको हो । त्यसपछि पनि विहान ७ बजेर १८ मिनेट जाँदा ५ दशमलव ८ म्याग्निच्युटको पराकम्प गएको छ ।
भूकम्पपछि पोर्तोरिकामा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यहाँको सरकारले जनतालाई शान्त र संयम रहन अनुरोध गरेको छ ।
पोर्तोरिकोमा आइतबारमात्र ५ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो । डिसेम्बर २८ देखि त्यहाँ भूकम्पहरु गइरहेका छन् । सोमबार विहान पनि त्यहाँ भूकम्पको धक्का अनुभव गरिएको थियो ।
भूकम्पबाट पुन्ता भेन्ताना चट्टान क्षतिग्रस्त भएको छ । यो त्यहाँको पर्यटकीय आकर्षणका रुपमा रहेको थियो ।
त्यस्तै गायानिलाको ऐतिहासिक चर्च पनि ध्वस्त भएको छ । त्यहाँ कैयन पर्यटकीय रुपमा आकर्षक स्थलमा क्षति पूगेको छ ।