इरानबारे ट्रम्पको अधिकारमा लगाम लगाउने प्रस्तावमा अमेरिकी संसदमा मतदान हुने
प्रकाशित मिति : पुस २३, २०७६ बुधबार
इरानबारे ट्रम्पको अधिकारमा लगाम लगाउने एउटा प्रस्तावमा मतदान गर्न हाउस स्पीकर न्यान्सी पेलोसीले आब्हान गरेकी छिन् । उक्त प्रस्तावबारे आगामी साता मतदान हुने जनाइएको छ ।
इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले राती मिसाइल आक्रमण पछि तनाव उत्पन्न भएको छ । आक्रमणमा क्षति भए नभएको स्पष्ट छैन तर इरानका संचारमाध्यमले भने कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेका छन् ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको हो ।
इरानले कम्तीमा १० वटा रकेटहरु आक्रमण गरेको छ । उक्त अमेरिकी क्याम्प बगदाददेखि १२४ माइल पश्चिममा रहेको छ ।
इराकको सैन्य क्याम्पमा इरानी आक्रमणपछि अमेरिकी रक्षामन्त्रीले इरानका प्रधानमन्त्रीसँग कुराकानीको प्रयास गरेका छन् । मध्यरातको समय भएकाले फोन सम्पर्क गर्न कठिन भएको बताइएको छ ।
तर फोनमा कुराकानी भएको भएको छ । यद्यपी फोनमा को थियो भन्नेबारे स्पष्ट नभएपनि दुईदेशबीच उच्च स्तरमा कुराकानी भएको जनाइएको छ ।
इराकमा अमेरिकी क्याम्पमा इरानको आक्रमणबारे राती नै राष्ट्रपति ट्रम्पलाई जानकारी गराइएको थियो । ह्वाइट हाउस सेक्रेटरीले यसबारे राती नै राष्ट्रपतिलाई जानकारी गराइसकिएको जानकारी गराएकी छिन् । यसबारे नजिकबाट निरिक्षण भइरहेको उनको भनाई छ ।
आक्रमणबारे हाउस स्पीकर न्यान्सी पेलोसीलाई पनि राती नै जानकारी दिइएको थियो । मंगलबारी राती डेमोक्र्याट्ससँगको बैठकमा रहेका बेला पेलोसीलाई जानकारी दिइएको हो ।
पेलोसीले यो अत्यन्तै गम्भिर समय रहेको बताएकी थिइन् ।