केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो, दर्जनौँ सवारी साधनमा आगजनी


प्रकाशित मिति : माघ ४, २०७६ शनिबार

सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ । कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए । झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा–सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् । तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो ।

तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिक–११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर–८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् ।

स्थानीय बासिन्दाको मागलाई प्रशासनले बेवास्ता गरेपछि झडप भएको तिङ्लाका स्थानीय बालकुमार कार्कीले बताउनुभयो । तिङ्लावासीको विरोधका कारण प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com