गाँजा र भाङमाथिको प्रतिबन्ध हटाउन माग गर्दै संसदमा प्रस्ताव, यस्ता छन् गाँजा सेवनका फाइदा
प्रकाशित मिति : माघ १५, २०७६ बुधबार
गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ।
प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जनार्दन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाई, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले समर्थन गरेका छन्।
सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ। नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने सांसदहरूको तर्क छ।
१९७० को दशकमा भाँगो तथा गाँजालाई लागूऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीसमेत विश्वका ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ।
आजको अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ ।
गाँजा सेवनका फाइदा
अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् । अमेरिकाका अधिकांश राज्यहरुमा मेडिकल प्रयोजनका लागि गाँजाको प्रयोग वैध मानिन्छ ।
एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।
अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।
अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।
नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।
त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।