कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार
प्रकाशित मिति : माघ २०, २०७६ सोमबार
थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको दाबी गरेका छन् ।
उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो ।
पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो ।
अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पताल स्रोतले बताएको समाचार संस्था सिएनएनले जनाएको छ ।