आज ट्रम्पले संसदबाट राष्ट्रका नाममा सम्बोधन गर्दै, पेलोसीसँग बोलचाल हुँदै


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

न्युयोर्क समय अनुशार आज राती ९ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सभाबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । यो अमेरिकी राष्ट्रपतिको बार्षिक सम्बोधन हो, जसलाई स्टेट अफ द युनियनका रुपमा चिनिन्छ ।

राष्ट्रपति ट्रम्पको यो तेश्रो स्टेट अफ द युनियन सम्बोधन हो । यदि आगामी निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित नभएको खण्डमा यो ट्रम्पको अन्तिम स्टेट अफ द युनियन सम्बोधन हुनेछ ।

सीएनएन लगायतका संचारमाध्यमले उक्त सम्बोधन वेवसाइट र अन्य अनलाइन माध्यममा लाइभ गर्नेछन् भने युट्युबमा पनि सम्बोधन लाइभ हेर्न सकिनेछ । सन् १९९९ मा बिल क्लिन्टनकै जस्तो सिनेटमा महाअभियोग परीक्षा चलिरहँदा ट्रम्पको स्टेट अफ युनियन सम्बोधन हुन लागेको हो ।

सम्बोधनका क्रममा प्रथम महिला मेलानिया ट्रम्पका साथमा अरु ११ जना पाहुनाहरु पनि उपस्थीत हुने जनाइएको छ । सम्बोधनका क्रममा केही अतिथिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको ह्वाइटहाउसले जनाएको छ ।

१० जना हाउस डेमोक्रेटिक सांसदहरुले आजको सम्बोधन बहिस्कार गर्ने भएका छन् । रोचक त के छ भने आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हाउस स्पीकर न्यान्सी पेलोसी मध्य अक्टोबरको बैठकपछि पहिलोपटक बोल्दैछन् । मध्य अक्टोबरको सिरियाबारेको एउटा बैठकमा पेलोसी बीचबाटै उठेर हिडेदेखि दुईजनाबीच बोलचालसमेत छैन ।

ट्रम्पलाई सम्बोधनका लागि पाहुनाका रुपमा व्यवहार गरिने र ट्रम्पले पनि पाहुनाकै रुपमा व्यवहार गर्ने आशा लिएको पेलोसीले बताएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com