कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ सय
प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार
घातक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ सय पुगेको छ । भाइरसबाट अहिलेसम्म २४ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् ।
विश्वका २५ वटा भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अहिलेसम्म कोरोना भाइरस संक्रमणको औषधी पत्ता लागेको छैन । तर केही प्रगतिका संकेतहरु देखिएका छन् । थाइल्याण्डका डाक्टरहरुले एन्टिभाइरलको मिश्रण गरेर दुईजना कोराना संक्रमित बिरामीको सफल उपचार गरेका छन् ।
कोरोना भाइरस संक्रमणका लक्षण रुघाखोकीकै जस्तो हुन्छन् । ज्वरो, खोकी, स्वास फेर्न कठिन हुने जस्ता लक्षणहरु देखिन्छन् । यदि तपाईले हालै चीनको भ्रमण गर्नुभएको थियो र त्यस्ता लक्षणहरु देखिएका छन् भने तुरुन्तै चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।
भाइरस व्यक्तिबाट व्यक्तिमा संक्रमण भइरहेको छ । त्यसैले हाछ्यु गर्दा र खोक्दा फैलिने सम्भावना हुन्छ । दिशापिसावबाट पनि संक्रमण हुनसक्ने बताइएको छ । तर हावामा लामोदुरीको यात्रा गरेर भाइरस संक्रमण भएको भने पाइएको छैन ।
कोरोनाको संक्रमण सबै उमेरसमुहका व्यक्तिमा हुन्छ । तर पहिले नै बिरामी भएकाहरु बढी जोखिममा छन् । चीनमा अहिलेसम्म ४२५ को मृत्यु भइसकेको छ जसमध्ये ८० प्रतिशत ६० बर्षभन्दा माथिका छन् ।
कोरोना भाइरस संक्रमित यात्रु चढाउने उबर चालकसहित २४० यात्रुको एकाउन्ट सस्पेण्ड
उबरले २४० यात्रुसहित कोरोना भाइरस संक्रमित यात्रुलाई चढाउने दुईजना उबर चालकको एकाउन्ट सस्पेण्ड गरेको छ । अमेरिकाबाट मेक्सिको घुम्न गएका एकजना चिनिया मुलका व्यक्तिलाई गाडीमा चढाएका २ जना उबर चालकको एकाउन्ट सस्पेण्ड गरिएको उबरले जनाएको छ ।
गत जनवरी २० मा अमेरिकाको लस एन्जलसबाट मेक्सिको सिटी गएका ती यात्रु त्यहाँ विभिन्न स्थानमा घुमेका थिए । घुम्ने क्रममा ती व्यक्तिले दुईवटा उबर चढेको र अमेरिका फर्केर परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।
ती व्यक्ति चढेको गाडीमा चढेका अरु २४० जना यात्रुको पनि उबर एकाउन्ट सस्पेण्ड गरिएको छ । उनीहरुले अरु उबरमा चढेर कोरोना भाइरस नफैलाउन् भन्ने उद्देश्यले एकाउन्ट सस्पेण्ड गरिएको उबरले जनाएको छ ।
यद्यपी मेक्सिकोबाट अमेरिका फर्केका एकजनामाबाहेक अरुमा भने कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छैन । प्रभावित यात्रुहरुले भने कम्तीमा २ हप्तासम्म उबर एकाउन्ट प्रयोग गर्न नपाउने भएका छन् ।
लस एन्जलसबाट २० जनवरीमा मेक्सिको गएका चिनिया मुलका ती नागरिक जनवरी २१ मा बिरामी भएका थिए । त्यसपछि उनी भोलिपल्ट उबर चढेर विमानस्थलमा आएका थिए ।
ती संक्रमित बिरामी मेक्सिको सिटीमा रहेको हिल्टन होटलमा बसेका थिए । मेक्सिकोका अधिकारीहरु उक्त होटलमा समेत पुगेर होटलका कर्मचारीमा संक्रमण भए नभएको जाँच गरेका थिए ।