न्युजर्सी आइपुग्यो रोयल क्यारेबियन क्रुज, कोरोना संक्रमणको आशंकामा ४ जना अस्पतालमा


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

दुईदर्जनभन्दा धेरै चिनिया यात्रुहरु बोकेर आएको रोयल क्यारेबियन क्रुज आज अमेरिकाको न्युजर्सी आइपुगेको छ । जहाजमा रहेका ४ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

एन्थम अफ द सी नामको उक्त क्रुजमा चढेकामध्ये एकजनालाई ज्वरो आएको छ भने अरु दुईजनालाई स्ट्रेचरमा राखेर क्रुजबाट हटाइएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमणको भने पुष्टी भएको छैन ।

उक्त क्रुजमा चढेका २७ जना यात्रुले हालै चीनको यात्रा गरेका थिए । उनीहरुको पनि स्वास्थ्य परीक्षण गरिएको न्युजर्सीका गभर्नर फिल मर्फीले जनाएका छन् ।

न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टी भएको छैन । उक्त क्रुजसिप झण्डै दुईसाताको यात्रापछि बहामसबाट न्युजर्सी फर्केको हो ।

न्युयोर्कमा अहिलेसम्म ५ जनालाई कोरोना भाइरस संक्रमणको आशंकागर्दै परीक्षण गरिएपनि अहिलेसम्म कसैमा संक्रमणको पुष्टी भएको छैन । बेलभिउ अस्पतालमा उपचाररत एकजनामा कोरोना संक्रमण नभएको पुष्टी भएको थियो ।

 जापानको क्रुजसिपमा ६१ जनामा संक्रमण

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा रहेको पुष्टी भएको छ । जापानको क्रुजसिपमा रहेका कम्तीमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

उक्त जहाजमा २० जनामा संक्रमण भएको जनाइएको थियो तर रातभरमा यो संख्या ६१ पुगेको छ । डायमण्ड प्रिन्सेस नामको उक्त जहाजमा २६६६ यात्रु र १०४५ कर्मचारीहरु रहेका छन् ।

उक्त जहाजमा ४२८ जना अमेरिकनहरु रहेका छन् । उक्त जहाजमा रहेका यात्रुहरुको मंगलबार स्वास्थ्य परीक्षण गरिएको थियो । अझै उनीहरुलाई ११ दिनसम्म निगरानीमा राखिने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि यात्रा अवरोध श्रृजना भएका एसियाका तीन जहाजमा यो एउटा जहाज हो । एउटा जहाज हङकङ र अर्को जापानमा पार्क गरिएका छन् । तेश्रो जहाज इस्ट चाइना सीमा नै रहेको छ । संक्रमण फैलिनसक्ने डरले उक्त जहाज पार्क गरिएको छैन ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६३० जनाको ज्यान गइसकेको छ भने ३१ हजार ४ सयमा संक्रमण देखिएको छ । अहिलेसम्म २५ देशमा भाइरसको संक्रमण देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com