अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश पोखरेल
प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार
नेपाली युवा दिवेश पोखेरेल चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको टप २० मा छानिएका छन् । अमेरिकाभरबाट टप २० मा उनीसहित ८ पुरुषहरु छानिएका छन् ।
टप २० मा छानिने महिला प्रतियोगीहरुको संख्या भने १२ रहेको छ । यो अमेरिकन आइडलको १८ औं सिजन हो । आइतबार टप २० छानिएको हो ।
अमेरिकन आइडलमा टप २० मा छानिने नेपाली युवा दिवेश पोखरेलले स्टेज नाम आर्थर गन रहेको छ ।उनी काठमाडौंमा जन्मिएका हुन् ।
हाल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका उनी अमेरिकन आइडलको स्टेजमा नमस्तेको अभिवादनका साथ प्रवेश गरेका थिए । उनले सुरुमा बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री गाएका थिए ।
उनको पहिलो गीत सुनेर उत्साहित भएका निर्णयक मण्डलले ताली बजाउँदै उनको प्रशंसा गरेका थिए । त्यसपछि उनलाई निर्णयक मण्डलका सदस्यहरुले अर्को गीत गाउन लगाएका थिए ।
दिवेशको अमेरिकन आइडलमा प्रस्तुतीको भिडियो
अर्को गीत गाएपछि निर्णयक मण्डलका सदस्यहरुले उनको प्रशंसामात्र गरेनन् । उनलाई स्टेजमा नै पुगेर अंगालो समेत हाले । उनले अब अमेरिकन आइडलको अर्को राउण्डमा समेत प्रवेश पाएका छन् ।
पोखरेल काठमाडौंमा जन्मे, हुर्केका थिए । काठमाडौमा नै हाइस्कुलसम्मको अध्ययन गरेका उनी ५ बर्ष अगाडि अमेरिका आएका थिए । आफूलाई बच्चैदेखि संगीत मन पर्ने र आमाबाट पहिलो गितार उपहार प्राप्त गरेपछि अझ लगाव बढेको उनले बताएका छन् ।
उनले केही नेपाली गीत समेत गाएका छन् । उनले पछिल्लोपटक कर्नाली बोलको गीत गाएर युट्युबमा हालेका छन् ।