पार्कर खेलाडी दिनेश सुनारले शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने
प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार
नेपाली पार्कर खेलाडी दिनेश सुनारले फरबरी २२ शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने भएका छन् । चौथो विश्वरेकर्डको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नै उनले पाँचौं विश्वरेकर्डको प्रयास गर्नेछन् ।
उनले ‘मस्ट फुल ट्वस्ट ब्याक समरसल्ट वीथ बर्पिज इन वान मिनेट’ मा नयाँ रेकर्डको प्रयास गर्नेछन् । त्यसका लागि न्युयोर्कको ज्याक्सनहाइट ७७ स्ट्रीटमा रहेको जुइस सेन्टरमा जीपीके फाउण्डेशन र ब्यालेन्स गु्रप इन्क अमेरिकाको आयोजनामा कार्यक्रम गरिदैछ ।
कार्यक्रम बेलुका ६ बजेदेखि ७ बजेसम्म हुने र स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहने जनाइएको छ ।
दिनेशले अमेरिकामा नै पार्कर खेलमा चौथो विश्व रेकर्ड कायम गरेका हुन् । दिनेशले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड राखेका हुन् ।
विश्व रेकर्डका लागि अमेरिकाको भर्जिनियामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी लगायतका राज्यबाट नेपालीहरु उपस्थीत रहेका थिए ।
गिनिज बुकका अहिलेसम्म उक्त विधामा एकघण्टाको अवधिमा जम्मा २ सय ब्याक फ्लिप्सको रेकर्ड रहेको छ ।
गिनिज बुकमा उनको नयाँ रेकर्ड यहाँ उपलब्ध छ ।
उनले पार्कर खेलमा नेपालबाटै तीनवटा विश्वरेकर्ड कायम गरेका थिए भने चौथो रेकर्ड अमेरिकामा राखे ।
पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।
उनले सन् २०१७ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्वरेकर्ड कायम गरेका थिए ।