ग्रिनकार्ड आवेदन दिने भिसा बुलेटिनकै मिति युएससीआईएसबाट सदर
प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार
अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनलाई नै युएससीआईएसले सदर गरेको छ । भिसा बुलेटिनमा नै आधारित रहेर युएससीआईएसले ग्रिनकार्डका लागि आवेदन दिने मिति निर्धारण गरेको छ ।
परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीका लागि ग्रिनकार्ड आवेदन दिन पाउने मिति भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई मानिएको छ तर परिवारमा आधारित अरु श्रेणीको ग्रिनकार्डका लागि भने भिसा बुलेटिनकै फाइल गर्ने मितिलाई सदर गरिएको छ ।
रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनकै फाइल गर्ने मितिलाई नै सदर गरिएको छ । युएससीआईएसले भिसा बुलेटिनको मितिलाई सदर गर्ने वा नगर्ने भन्ने अधिकार राख्छ । त्यसैगरी कुन मितिलाई सदर गर्ने भन्ने अधिकार पनि युएससीआईएससँग रहेको छ ।
ग्रिनकार्डबाहकका दम्पत्ति तथा २१ बर्ष नपुगेका छोराछोरीहरुलाई मार्चमा पनि मौका
अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि मार्च महिनामा पनि मौका आएको छ । मार्च महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् । जुन सुविधा अमेरिकी नागरिकलाईमात्र रहदै आएको छ ।
८ महिनादेखि पाउँदै आएको यो सुविधा फरबरीमा पनि ग्रिनकार्डवाहकका लागि समेत जारी भएको छ ।
जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।
आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्नेछन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुनेछैन ।
तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।
अप्रिलमा १० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाई ग्रिनकार्ड
आगामी अप्रिल महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी अप्रिलमा १० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाइ भिसा प्रदान गरिने भएको छ ।
फरबरीमा ७५ सय ७५ सम्म केस नम्बर हुने र मार्चमा ८ हजार ८ सयसम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।
आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।
तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो । डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो भने जनवरीमा ६५ सयसम्म केस नम्बर हुने नेपालीले भिसा पाए ।
गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।
यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले आगामी मे ५ मा नजिता प्राप्त गर्नेछन् । उनीहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।
नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गरेको छ । भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको तुलनामा ग्रिनकार्डवाहकका नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो हुने भएको छ ।
मार्च महिनाका लागि अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति ८ अक्टोबर २०१३ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्च महिनामा ग्रिनकार्ड पाउनेछन् ।
तर ग्रिनकार्डवाहकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति १५ सेप्टेम्बर २०१४ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्च महिनामा ग्रिनकार्ड पाउनेछन् । जुन नागरिकका छोराछोरीको तुलनामा झण्डै १ बर्ष छिटो रहेको छ ।
अमेरिकामा नै रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले मार्चमा स्टाटस एड्जस्त गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति ८ जुन २०१४ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि मार्चमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।
अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले मार्चमा स्टाटस एड्जस्त गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति १५ मे २०१५ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि मार्चमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।
यसरी हेर्दा अमेरिकामा रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको आई ४८५ फाइल गर्ने मिति पनि झण्डै एबर्ष छिटो रहेको छ ।
अमेरिकी नागरिकका विवाहित छोराछोरीको सन्दर्भमा भने १५ डिसेम्बर २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्चमा ग्रिनकार्ड वा भिसा प्राप्त गर्नसक्नेछन् । अमेरिकामा नै रहेका अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले १५ अगस्त २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा मार्चमा स्टाटस एड्जस्टका लागि आई ४८५ आवेदन दिन सक्नेछन् ।
यसरी ग्रिनकार्ड प्राप्त गर्न अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुलाई झण्डै साढे ६ बर्ष, ग्रिनकार्डवाहकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुलाई झण्डै साढे ५ बर्ष, अमेरिकी नागरिकका विवाहित छोराछोरीलाई झण्डै साढे १२ बर्ष लाग्ने भएको छ ।
एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट
अमेरिकामा १५ महिनाको अन्तरालपछि डिसेम्बरमा करेन्ट भएको रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन जनवरी फरबरीहुँदै मार्चमा पनि करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने व्यक्तिले मार्चमा पनि आई १४० सँगै ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।
रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि मार्चमा करेन्ट रहेको छ । तर तेश्रो श्रेणीको ग्रिनकार्ड भने करेन्ट छैन । तेश्रोबाहेक अरु सबै श्रेणीका ग्रिनकार्डमा नेपालीहरुले आई १४० सहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् ।
युएससीआईएसले भिसा बुलेटिनको मितिलाई मान्यता दिएमा विगतमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि मार्चमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।
पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।
पृष्ठभूमि
सन् २०१८ को अगस्त भन्दा अगाडि अमेरिकामा भिजिटर भिसामा आउनेहरुले समेत एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउँथे । सामान्यतया गैरआप्रवासी भिसामा अमेरिका आएको व्यक्तिले ९० दिनभित्र आप्रवासी भिसाका लागि आवेदन दिएमा वा स्टाटस परिवर्तन गर्न खोजेमा त्यसलाई गैरकानुनी मानिन्छ । अमेरिकी सरकारले गैरआप्रवासी भिसाका नियम उल्लंघन हुन नदिन यो नियम बनाएको हो ।
त्यसैले भिजिटर भिसामा अमेरिका आउने व्यक्तिले सामान्यतया ६ महिनाका लागि अमेरिका बस्ने अनुमति पाउने हुनाले भिजिटर भिसामा नै आएको बखत ३ महिना नाघेपछि एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र यात्राका लागि एड्भान्स परोल प्राप्त गर्दै आएका थिए ।
तर सन् २०१८ को अगस्तमा अमेरिकी सरकारको भिसा बुलेटिनमा यो श्रेणीको ग्रिनकार्डका लागि फाइनल एक्सन डेट १ मे २०१६ तोकियो । युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि आई १४० फाइल गर्नेहरुले सन् २०१८ को अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागि झण्डै २ बर्ष ४ महिना कुर्नुपर्ने अवस्था सृजना भयो । नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् ।
त्यसपछि सेप्टेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि त्यतीबेला नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् । आवेदन पेन्डिंग अवस्थामा रहेका वा आई १४० स्वीकृत भइसकेका तर ग्रिनकार्ड आवेदन नदिएकाहरुलाई पनि समस्या उत्पन्न भयो । सन् २०१८ को सेप्टेम्बरमा जुन १ , २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र आई ४८५ फाइल गर्न पाउने भए ।
सन् २०१८ को अक्टोबरमा युएससीआईएसले भिसा बुलेटिनकै फाइलिङ मितिलाई मान्यता दिएको थियो । त्यो क्रम सन् २०१९ को जनवरीसम्म चलेको थियो । तर पनि झण्डै ७ महिना कुर्नुपर्ने अवस्था भने विद्यमान नै थियो । भिजिटर भिसामा आएर स्टाटस परिवर्तन नगरी फाएल गर्न सम्भव थिएन । सन् २०१९ को फरबरीमा युएससीआईएसले पुन भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई नै फाइल गर्ने मितिका रुपमा मान्यता दिएको थियो, जसका कारण पुन १४ महिनाभन्दा लामो समय कुर्नुपर्ने अवस्था आएको थियो ।
त्यसपछि गत अक्टोबरदेखि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिदै आएपनि झण्डै तीनमहिना कुर्नुपर्ने अवस्था भने कायमै थियो । जुन गत डिसेम्बरमा हटेको थियो ।
खासगरी अमेरिका आइसकेको तीनमहिना पूरा भइसकेकाहरु र एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न चाहनेहरुका लागि यो खबर सुखद रह्यो । उनीहरु कन्सुलर प्रकृयाका लागि फर्केर जानुपर्ने बाध्यता भएन । त्यस्तै अमेरिका आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गरिसकेर पेन्डिंग अवस्थामा रहेका वा स्वीकृत भइसकेका तर आई ४८५ फाइल गर्न कुरेर बसेकाहरुका लागि पनि यो सुखद खबर रह्यो । अमेरिका बाहिर रहेका एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदकका सन्दर्भमा भने नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउछ ।
अमेरिकी सरकारले एक्स्ट्रा अर्डिनरी लगायतका ग्रिनकार्डका लागि आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ सँगै फाइल गर्न नपाइने गरी औपचारिक नियम नै ल्याउने तयारी गरिरहेको छ । उक्त नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ ।
अमेरिकाका संघीय अध्यागमन एजेन्सीले सन् २०२० मा गर्ने अध्यागमन परिवर्तनको योजना सार्वजनिक गर्दै अप्रिलमा ग्रिनकार्डका सन्दर्भमा नयाँ नियम प्रकाशन गर्ने तयारी गरेका हुन् ।