जेलमा पनि कोरोना भाइरसको संक्रमण,जनजीवन झनै प्रभावित हुँदै
प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार
कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि संक्रमण देखिएको बताएका छ्न्।
शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब चार सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो ।
यस प्राणघातक रोगको संक्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका वेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
चीनको पूर्वी भागमा रहेको साङडोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सात जना सुरक्षागार्ड र दुई सय कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको बताइएको छ।
कारागार प्रशासनका निर्देशक वु लेईले शुक्रबार सार्वजनिक गरेको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन् ।
यस्तै चीनको पूर्वीप्रान्त झेजिङको सिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् । गत वर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुवेइको कारागारले बिहीबार २ दुई सय ७१ कोरोना भाइरसको थप संक्रमण देखिएको बताइएको छ।
हुवेइ प्रान्तमा बिहीबार चार सय ११ व्यक्तिमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएको पुष्टि गरेको थियो । तर केही समयपछि कारगारमा देखिएको संख्यासहित ६ सय ३१ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ ।
यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन प्रभावित हुँदै गएको बताइएको छ। यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको छ ।
दुई नयाँ अस्पतालमा बिरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ। बेइजिङका फक्सिङ अस्पतालका ३६ जना बिरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि बिरामी परेका छन्। ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको संक्रमण देखिएको बताइएको छ।