१० मार्चदेखि कोरोना प्रभावित ५ देशबाट नेपाल आउनेहरूलाई अनअराइभल भिसा नदिइने


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

आगामी मार्च १० बाट नेपाल आउने कोरोना भाइरस प्रभावित विभिन्न ५ वटा देशहरुका नागरिकलाई विमानस्थलमा अन अराइभल भिसा नदिइने भएको छ । चीन, इरान, दक्षिण कोरिया, इटली र जापानका नागरिकलाई मार्च १० बाट अन अराइभल भिसा नदिइने नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ ।

ती देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्ने र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने अध्यागमन विभागको सुचनामा उल्लेख छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको जोखिमका कारण अनिश्चितकालका लागि अन अराइभल भिसा स्थगित गर्ने निर्णय गरेपनि कुन कुन देशका नागरिकका लागि अन अराइभल भिसा स्थगित गर्ने भन्नेबारे स्पष्ट पारिएको थिएन । तर आज अध्यागमन विभागले जारी गरेको सुचनामा ५ देशका नागरिकका लागिमात्र अन अराइभल भिसा नदिने स्पष्ट पारेको छ ।

नेपालले विश्वका अधिकांश मुलुकका नागरिकलाई अन अराइभल भिसा दिदै आएको छ । विमानस्थलमा ९० दिनसम्मको अन अराइभल भिसा पाउने व्यवस्था रहदै आएको छ । यसअगाडि विभिन्न १२ देशका नागरिकलाई नेपालले अन अराइभल भिसामा रोक लगाएको थियो, जसमा अफागानिस्तान, क्यामरुन, इस्वाटिनी, इथोपिया, घाना, इराक, लिबिया, नाइजेरिया, प्लालेस्टाइन, सोमालिया, सिरिया र जिम्बाबे रहेका थिए ।

अन अराइभल भिसा स्थगनबाट विगतका १२ र थप ५ सहित १७ देशका नागरिबाहेक अरुदेशका नागरिकहरु प्रभावित नहुने जनाइएको छ ।

त्यस्तै सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने जनाइएको छ ।

(नेपाल सरकारको अध्यागमन विभागको सुचनामा आधारित रहेर यो समाचार अपडेट गरिएको छ । यसअगाडि मन्त्रिपरिषद्को बैठकमा सहभागी मन्त्रीको भनाईलाई आधारमानेर मार्च ७ देखि लागु हुने र विश्वभरका नागरिकका लागि लागु हुने उल्लेख गरिएकोमा त्यसलाई सच्याएर थप ५ देशका नागरिकका लागि मार्च १० बाट लागु हुने बनाइएको छ ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com