होली : कोरोनाको त्रासले उडाएको रंग
प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार
रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा मनाईंदैछ । तराईमा भने होली भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ । यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चिर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।
होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।
तर यस बर्ष कोरोनाको जोखिम बढेकाले अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्या“क्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हु“दा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ । डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।