ठेकेदार भेटवालले गरे आत्मसमर्पण !
प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार
ठेकेदार मनोजकुमार भेटवालले आत्मसमर्पण गरेका छन् । पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’काे ठेक्का लिएर निर्माण कार्यमा समेत ढिलाइ गरिरहेका भेटवाल बैंकिङ कसुरमा मुछिएपछि भारततिर फरार रहेका थिए ।
तेह्रथुम घर भएका भेटवालले भारतबाट फर्केर मंगलबार बिहान प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेकाे महानगरीय परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
भेटवालले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध चन्द्र तामाङले बैंकिङ कसुरको केटानी जाहेरी प्रहरीमा दर्ता गराएका थिए । ७ अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । भेटवालविरुद्ध गत साउनमा राजस्व अनुसन्धान विभागले समेत अवैध हुण्डी कारोबारको मुद्दा दायर गरेको थियो ।
भेटवालकाे कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि पछिल्लो समय आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ । टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछि पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए ।