३ महिनासम्म तलबी विदा लिनसकिने र निशुल्क कोरोना परीक्षणको बिल अमेरिकाको हाउसबाट पारित
प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार
कोरोना भाइरसको संक्रमणबारेको राहत प्याकेज अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको छ । प्याकेजमा कोरोना प्रभावित अमेरिकनलाई तलबी विदा दिने र निशुल्क कोरोना परीक्षण गर्ने विषय समावेश गरिएको छ । बिजनेशहरुलाई खर्च कभर गर्नका लागि ट्याक्स क्रेडिट दिइने भएको छ ।
कामदारहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएमा वा परिवारका सदस्यको हेरचाह गर्नुपर्ने भएमा तीनमहिनाको तलबी विदा लिनसक्नेछन् । बिलले वेरोजगारी सहायता पनि प्रदान गर्नेछ । अप्रिल १ देखि कामको मापदण्ड पूरा नगरेकाहरुले फुड स्ट्याम्प नपाउने नियम लागु हुन लागेकोमा उक्त नियम पनि लागु नहुने भएको छ ।
दुईदलीय समर्थन रहेको उक्त बिलमा पक्षमा ३६३ मत खसेको थियो भने ४० जना रिपब्लिकनहले बिलको विपक्षमा मतदान गरेका थिए । डेमोक्रेटिक नियन्त्रण रहेको संसदको तल्लो सदनबाट पारित यो बिल आगामी साता रिपब्लिकन नियन्त्रण रहेको सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ ।
एचआर ६२०१ नामको यो बिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन् । यो बिलले कोरोनाभाइरस परीक्षणमा आफ्नो निर्देशिकालाई अनुशरण गर्ने र प्रभावित अमेरिकन कामदारलाई तलबी विदाको सुविधा दिने ट्रम्पले बताएका छन् ।
साना ब्यापारमा आघात पर्न नदिन आफूले सरकारका निकायहरुलाई निर्देशन दिइसकेको ट्रम्पले बताएका छन् । अमेरिकी संसदको तल्लो सदनकी स्पीकर न्यान्सी पेलोसीले यो बिल सिनेटबाट पनि पारित हुने अपेक्षा गरेकी छिन् ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकालको घोषणा गरेपछि अस्पतालहरुलाई आपतकालिन तयारीका योजनाहरु सकृय बनाउन निर्देशन दिइएको छ । आगामी साताको सुरुसम्म अमेरिकामा ५ लाखको परीक्षण गर्नसक्ने क्षमता हुने कार्यान्वयन हुनेछ ।
साथै अमेरिकाले एकमहिनामा ५० लाखको परीक्षण गर्नसक्ने क्षमता तयार पार्ने भएको छ । तर विना कुनै लक्षण परीक्षणका लागि नजान अधिकारीहरुले सुझाव दिएका छन् । साथै स्पष्ट आवश्यकता नभएसम्म परीक्षण आवश्यक नभएको समेत बताइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका अन्य देशबाट समेत अमेरिका आउनमा प्रतिबन्धका लागि पुनरावलोकन गरिरहेको बताएका छन् । उनले एकदुई दिनमा केही देशहरु थपिने र केही हटाउनसमेत सकिने बताएका छन् ।
अमेरिकामा संकटकालको घोषणा गरिएपछि झण्डै ५० बिलियनको आपतकालिन राहत कोष परिचालन गर्न सकिने भएको छ । राष्ट्रपति ट्रम्पले आगामी दुईमहिना संकटग्रस्त हुने बताएका छन् ।
अमेरिकाले आजैदेखि लागु हुनेगरी युरोपका शेंगेन क्षेत्रका मुलुकहरुबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ ।