अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण नभएको पुष्टी


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टी भएको छ । भेटेका केही मान्छेमा कोरोनाको संक्रमण पुष्टी भएपछि ट्रम्पको ल्याब टेस्ट गरिएको थियो ।

ह्वाइट हाउसका चिकित्सक सिन कोन्लेले वक्तब्य जारी गर्दै राष्ट्रपति ट्रम्पमा कोरोना नेगेटिभ देखिएको जानकारी दिएका छन् । ट्रम्पले ब्राजिलियन टोलिसँग फ्लोरिडाको मार ए लागो रिसोर्टमा भेटघाट गरेका थिए, जसमध्ये केहीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

ब्राजिलियन टोलीसँग मार ए लागोमा डिनर गरेको एकसातापछि ट्रम्पमा कोरोना नेगेटिभ देखिएको चिकित्सकले बताएका छन् । ७३ बर्षका ट्रम्प उक्त भेटघाटपछि आफूलाई लक्षण नदेखिएको भन्दै आइसोलेसनमा बसेका थिएनन् ।

ट्रम्पलाई शुक्रबार परीक्षण गरिएको थियो भने यसको नतिजा शनिबार आइसकेको छ । अमेरिकामा अहिलेसम्म २७ सय भन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ भने ५४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकालको घोषणा गरेपछि अस्पतालहरुलाई आपतकालिन तयारीका योजनाहरु सकृय बनाउन निर्देशन दिइएको छ । आगामी साताको सुरुसम्म अमेरिकामा ५ लाखको परीक्षण गर्नसक्ने क्षमता हुने कार्यान्वयन हुनेछ ।

साथै अमेरिकाले एकमहिनामा ५० लाखको परीक्षण गर्नसक्ने क्षमता तयार पार्ने भएको छ । तर विना कुनै लक्षण परीक्षणका लागि नजान अधिकारीहरुले सुझाव दिएका छन् । साथै स्पष्ट आवश्यकता नभएसम्म परीक्षण आवश्यक नभएको समेत बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका अन्य देशबाट समेत अमेरिका आउनमा प्रतिबन्धका लागि पुनरावलोकन गरिरहेको बताएका छन् । उनले एकदुई दिनमा केही देशहरु थपिने र केही हटाउनसमेत सकिने बताएका छन् ।

अमेरिकामा संकटकालको घोषणा गरिएपछि झण्डै ५० बिलियनको आपतकालिन राहत कोष परिचालन गर्न सकिने भएको छ । राष्ट्रपति ट्रम्पले आगामी दुईमहिना संकटग्रस्त हुने बताएका छन् ।

अमेरिकाले आजैदेखि लागु हुनेगरी युरोपका शेंगेन क्षेत्रका मुलुकहरुबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ ।

युरोपियन देशबाट अमेरिका आउनमा प्रतिबन्ध : कसकसलाई दिइयो छुट ?

अमेरिकी सरकारले युरोपको  देशबाट अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । तर केही व्यक्तिलाई भने यो प्रतिबन्धबाट छुट दिइएको छ । अर्थात् उनीहरुलाई विगत १४ दिनभित्र ती देशको भ्रमण गरेको भएपनि अमेरिका आउन दिइनेछ । अमेरिकी नागरिकलाई यस्तो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिकबाहेक यस्तो छुट पाउनेहरुमा पहिलो नम्बरमा अमेरिकाका ग्रिनकार्डवाहकहरु रहेका छन् ।

त्यस्तै अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्तिलाई पनि यस्तो प्रतिबन्ध लाग्नेछैन । २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका अभिभावक वा बाबुआमामाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।

त्यस्तै २१ बर्ष मुनीका अविवाहित ग्रिनकार्डवाहक र नागरिकका दाजुभाईदिदीबहिनीमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका बच्चा, पालनपोषण गरेका बच्चा, धर्मसन्तानका रुपमा अमेरिका आउन लागेकाहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछैन ।

त्यस्तै कोरोना भाइरसको संक्रमण कम गर्न अमेरिकी सरकारको निमन्त्रणामा आउन लागेकाहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । विमान वा पानीजहाजका क्रु मेम्बरका रुपमा अमेरिका आउनेहरुलाई पनि यो प्रतिबन्ध नलाग्ने भएको छ ।

विदेशका सरकारी अधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरुमाथि पनि यो प्रतिबन्ध लाग्नेछैन । त्यस्तै नाटो क्याटेगोरीमा भिसा पाउनेहरुलाई र संयुक्त राष्ट्रसंघको मुख्यालय सममति अनुरुप भिसा पाउनेहरुलाई पनि यो प्रतिबन्ध लाग्नेछैन ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कुनै व्यक्तिले अमेरिकामा भाइरस नफैलाउने कुरा सीडीसी निर्देशकमार्फत ठहर गरेमा त्यस्तो व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइनेछैन । अमेरिकी सरकारले कानुन कार्यान्वयनका लागि महत्वपूर्ण ठानेका व्यक्तिलाई पनि प्रवेशमा रोक लगाइनेछैन ।

अमेरिकाको राष्ट्रिय हितमा ठहर गरिएकाहरुलाई पनि प्रतिबन्ध लगाइनेछैन । साथै अमेरिकी सेना र उनीहरुका दम्पत्ति तथा छोराछोरीहरुलाई पनि प्रतिबन्ध लाग्नेछैन ।

अमेरिकी सरकारको यो घोषणाले एसाइलमका योग्यतामा कुनै असर नपर्ने जनाइएको छ । साथै अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने राहतका लागि पनि यो घोषणाले कुनै असर गर्नेछैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com