कोरोना भाइरसविरुद्ध एक भएर लड्ने ,सार्क राष्ट्रप्रमुखको सामूहिक प्रतिबद्धता
प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार
एक्लो होइन सामूहिक शक्तिको क्षमतालाई बुझेर दक्षिण एसियाली मुलुकहरुले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् ।
विश्वलाई नै कोरोना भाइरसले आफ्नो प्रभावमा लपेटदै गर्दा कुनै पनि क्षेत्रीय तथा महादेशीय संस्था वा संगठनहरु अझै सामूहिक प्रतिबद्धता जाहेर गरेर अघि आउन सकेका छैनन् ।
यूरोप जस्तो शक्तिशाली महादेशलाई नै त्रसित बनाउँदा समेत युरोपेली युनियन अझै सामुहिक प्रतिबद्धता जाहेर गरेर अघि बढ्न सकेको छैन भने अन्य महादेशहरुको पनि हालत उस्तै छ ।
सबै देशले आफ्नो बुत्ता र सामथ्र्यले भ्याएसम्म एक्लाएक्लै कोभिड–१९ को संक्रमण र सन्त्रासविरुद्ध संघर्ष गरिरहेका छन् । यद्धपि धेरै समस्या र संकटमा युरोपेली युनियनले घोषणा गरेको लिपिबद्ध प्रतिबद्धतामा धेरे प्रयास स्वतः सामुहिक नै मानिने गरिएको छ ।
तर, औपचारिकरुपमा भने युरोपेली युनियनले पछिल्लो समय कोरोना आतंकबारे कुनै सांगठिन प्रतिबद्धता जाहेर गरेको छैन ।
तर, दक्षिण एसियाली मुलुकहरुले भने सामुहिक प्रतिबद्धता जाहेर गरेर क्षेत्रीयरुपमा नै एक भएर कोरोना भाइरसविरुद्ध लड्ने सामुहिक संकल्प गरेका छन् ।
आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको भिडियो कन्फ्रेन्समा सहभागी दक्षिण एसियाली मुलुकका राष्ट्र र सरकार प्रमुखहरुले कोरोनाविरुद्ध लड्न सामुहिक प्रतिबद्धता कोशेढुंगा सावित हुन सक्ने धारणा राखे ।
कोरोनाको कारण सबै देशका राष्ट्र तथा सरकार प्रमुखहरुले आआफ्नो पीडा र छट्पटी सुनाउँदा सबै देशलाई कोरोनाले त्रसित र प्रभावित तुल्याएको प्रष्टसँग बुझ्न सकिन्थ्यो ।
आपत्तकालीन कोषको स्थापना
एकल सम्बोधन पछि आयोजित सामुहिक अन्र्तक्रियामा भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड–१९ विरुद्ध लड्न आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष बनाउने प्रस्ताव राख्नु भएको हो ।
उहाँले कोषमा भारतले तत्काल एक करोड अमेरिकी डलर दिने घोषणा समेत गर्नुभयो । कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सकिनेछ । सार्क देशहरुबीच अनलाइन तालिम तथा साझा सफटवेयर बनाउने समेत मोदीको प्रस्ताव छ ।
प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित महामारीको जोखिमलाई ध्यानमा राख्दै रणनीति बनाएको बताउनुभएको छ । कोरोना भाइरसको महामारीबारे सार्क राष्ट्रका नेताहरुबीच आज सांझ भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले संभावित महामारीको जोखिमलाई बुझेर रोकथामका लागि कयौँ उपाय अपनाएका बताउनुभयो ।
ओलीले नेपालले भाइरस रोक्न गरेको प्रयासलाई आफैँले रेखदेख गरिरहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताउंदै कन्फ्रेन्स आयोजना गरेकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो । ओलीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि सबै सार्क नेताहरुलाई धन्यवाद दिनुभयो ।
ओलीले नेपालमा एक जनामा कोरोना भाइरसको शंकास्पद संक्रमण देखिएको तर अहिले संक्रमण नरहेको स्पष्ट पार्नुभयो । उहांले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको बताउनुभयो । सार्क राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रेन्स भएको थियो । तर, पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्रीको सहभागिता रहेको थियो ।
सन् २०१४ को नोभेम्बर २६ र २७ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भए यता अहिलेसम्म १९ औं सार्क सम्मेलन हुन सकेको छैन । १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा २०१६ मा गर्ने भनिए पनि हालसम्म आयोजना हुन सकेको छैन ।
भारत र पाकिस्तानबीचको तनावले सार्क सम्मेलन प्रभावित हुँदै गर्दा सार्क संगठन नै निष्प्रभावी बन्ने खतरा बढेको थियो । तर सुखद पक्ष कोभिड १९ ले ल्याएको विश्वव्यापी संकटले सार्क पुनः सक्रिय बन्ने सम्भावना बढेको छ ।