युरोपबाट फर्कने अमेरिकनहरु एयरपोर्टमा घण्टौं लाइनमा
प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार
अमेरिकाले युरोपका २६ देशबाट अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका परिवारबाहेक अन्यलाई अमेरिका आउनमा प्रतिबन्ध लगाएपछि ती देशबाट अमेरिका आउने अमेरिकी नागरिक र ग्रिनकार्डवाहकले अमेरिकी विमानस्थलमा घण्टौं लाइनमा बस्नु परेको छ । विगत १४ दिनमा ती देशमा गएका र ती देशबाट आउनेलाई अमेरिकाका १३ विमानस्थलमा डाइभर्ट गरिने भएकाले ती १३ विमानस्थलहरुमा पुगेकाहरुले कोरोना परीक्षणका लागि घण्टौं कुनुपरेको हो ।
डलास, शिकागो र न्युयोर्क लगायतका विमानस्थलमा आएकाहरु अन्यौलग्रस्त भएका हुन् । अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि सोमबार मध्यरातदेखि प्रतिबन्ध लगाएको छ । तर शेंगेन क्षेत्रका २६ मुलुकलाई भने शुक्रबार रातीदेखि नै प्रतिबन्ध लगाइएको छ ।
विगत १४ दिनमा पेरिस पुगेर बेलायत हुँदै अमेरिका आएका करेन रोजर्सलले आफूलाई शिकागोको विमानस्थलमा डाइभर्ट गरिएको र आफूले त्यहाँ ६ घण्टा कुर्नुपरेको बताए । यी देशबाट फर्कनेहरुले सुरुमा पासपोर्ट चेकको लाइनमा बस्नुपर्छ । त्यसपछि कस्टम फर्म र स्वास्थ्यसम्बन्धि फर्महरु भर्नुपर्छ । फर्ममा शेंगेन, साउथ कोरिया, चीन र इरानको भ्रमण गरे नगरेको बारे प्रश्न रहेका छन् ।
त्यसपछि यात्रुहरुलाई तापक्रम चेक गर्न र अतिरिक्त जाँचका लागि छुट्टै लाइनमा लगिन्छ । कसैलाई ज्वरो देखिएको खण्डमा उनीहरुलाई अरु चारघण्टाका लागि लाइनमा बस्न दिइदैन ।
यदि कोरोनाभाइरसको कुनै लक्षण नदेखिएमा अन्तिम गन्तब्यमा जान दिइनेछ । तर गन्तब्यमा पुगेर १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ । यदि कोरोनाभाइरसको लक्षण देखिएमा स्वास्थ्य मुल्यांकनका लागि सीडीसीलाई रिफर गरिन्छ ।
न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा आएका कम्तीमा ३ जनालाई लक्षणका आधारमा अस्पताल लगिएको छ । विमानस्थलमा स्वास्थ्य परीक्षणको लागि कम्तीमा २ घण्टाको अवधि लाग्ने गरेको छ ।