मंगलबारदेखि न्युयोर्कका रेष्टुरेण्ट, बार, सिनेमाघर र नाइटक्लब बन्द


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् ।

त्यस्तै सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पूर्णरुपमा बन्द गरिने भएको छ । आफूले यो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको उनले बताएका छन् ।

आजै न्युयोर्कका मेयरले सोमबारदेखि विद्यालयहरु बन्दको घोषणा गरका थिए ।  मेयर  ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना गर्नुपरेको थियो ।

मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् । न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ७२९ पुगेको छ भने न्युयोर्क सिटीमामात्र ३२९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

न्युयोर्क राज्यको वेष्टचेस्टरमा १९६ जनामा संक्रमण भएको छ भने नासु काउन्टीमा ९८ जनामा संक्रमण भएको छ । त्यस्तै सफल्क काउन्टीमा ४७ जनामा संक्रमण पुष्टी भएको छ ।

न्युयोर्क सिटीबाहिर अहिलेसम्म २० वटा काउन्टीमा कोरोना संक्रमण पुष्टी भएको छ । अल्बानीमा ८ जनामा र रकल्याण्डमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com