स्पेनका २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोनाका कारण मृत्यु
प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार
स्पेनमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमणबाट एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो ।
कोरोनाको लक्षण देखिएपछि २१ वर्षीय गार्सियालाई अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो ।
महामारीको रुपमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप अहिले युरोपियन मुलुकमा बढी देखिएको छ । इटाली र युरोपमा कोरोनाको महामारी बढेको छ । स्पेनले अहिले देशमा आपतकालिन अवस्थाको घोषणा समेत गरेको छ ।