आजदेखि न्युयोर्कका रेष्टुरेण्ट बन्द, अटेर गर्नेलाई प्रहरीले पक्राउ गर्ने
प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार
न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै आजविहान ९ बजेदेखि लागु हुने गरी न्युयोर्क सिटीका रेष्टुरेण्टहरु बन्दको घोषणा गरेका छन् । यदि कसैले अटेर गरेमा पक्राउ गर्न र उपस्थीतिका लागि पत्र काट्न न्युयोर्क सिटी प्रहरीलाई आदेश दिइएको छ ।
मेयरले न्युयोर्कका डाइन इन रेष्टुरेण्ट र मनोरञ्जन स्थलहरु बन्द गर्न आदेश दिएका छन् । प्रहरी अधिकारीहरुलाई पठाइएको मेमोमा यदि कसैले अटेर गरेमा चाल्न सकिने कदमहरुबारे जानकारी दिइएको छ ।
न्युयोर्क राज्यमा गर्भनर एन्ड्रयु कुमोले संकटकालको घोषणा गरिसकेका छन् भने न्युयोर्क सिटीमा पनि मेयर ब्लाजिओले संकटकालको घोषणा गरेका छन् । संकटकालको घोषणा पछि न्युयोर्क सिटीलाई सार्वजनिक यातायात बन्द गर्ने, रेष्टुरेण्ट लगायतका स्थलहरु बन्द गर्ने लगायतका अधिकारहरु प्राप्त हुन्छ ।
हिजोदेखि लागु हुनेगरी न्युयोर्क सिटीमा सार्वजनिक विद्यालयहरु पनि बन्द गरिएको छ । आजदेखि रेष्टुरेण्ट, बार, क्याफे, सिनेमाघर, थियटर, कन्सर्टस्थल, जीम लगायतका स्थानहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बन्द गर्न अटेर गर्ने, स्थल छाड्न अटेर गर्ने, प्रहरीले भनेको नमान्नेहरुलाई अझ थप मुद्दाहरु समेत लगाउनसक्ने अधिकार दिइएको छ । प्रहरीले यस्ता रेष्टुरेण्ट वा अन्य स्थलहरु खुल्ला देखेमा तत्काल बन्द गराउनसक्ने अधिकार प्राप्त गरेको छ ।