पोर्चुगलमा संकटकाल
प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार
कोरोना संक्रमणबिरुद्ध जुध्न पोर्चुगलमा संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री अन्टोनियो कोस्टाले राष्ट्रपतिको संकटकाल लागु गर्ने निर्णयलाई सरकारले समर्थन गरेको बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आपतकालिन बैठकपछि यस्तो जानकारी दिएका हुन् । अहिलेसम्म पोर्चुगलमा नेपालीसहित ६४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।
आजैमात्र पोर्चुगलमा थप १९४ जनामा संक्रमण पुष्टी भएको हो । केहीदिन अगाडि पोर्चुगलको फारोमा बस्ने एकजना नेपालीमा संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
पोर्चुगलसँग सिमा जोडिएको स्पेनमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दा पोर्चुगलमा त्रास बढेको छ । स्पेनमा १३ हजार ९ सय १० मा संक्रमण पुष्टी भएको छ भने आजैमात्र २ हजार ८४ मा संक्रमण पुष्टी भएको छ ।
युरोपको इटली, जर्मनी र फ्रान्सले कोरोना संक्रमणको भयाभह अवस्था सामना गरिरहेका छन् । इटलीमा अहिलेसम्म २९७८ जनाको मृत्यु भएको छ भने ३५ हजार ७ सय १३ मा संक्रमण पुष्टी भएको छ ।
जर्मनीमा ११ हजार ३ सय २ मा संक्रमण भएको छ भने २७ जनाको मृत्यु भएको छ । त्यस्तै फान्समा ७ हजार ७ सय ३० मा संक्रमण भएको छ भने १७५ जनाको मृत्यु भएको छ ।