कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा आएका ११ परिवर्तन
प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार
कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् ।
१ अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका अन्य काममा आवतजावत बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले पनि मेक्सिकोसँगको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुलाई रोक्न थप कदम चालेको छ । सिमाक्षेत्रमा पक्राउ परेकाहरुलाई तुरुन्दै देशनिकालाको आदेश जारी गरेर जुनदेशबाट आएको हो त्यही देशतिर पठाइनेछ ।
२, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आफ्ना अध्यागमन कारवाहीका तौरतरिकामा फेरवदल गरेको छ । अपराध गरेकाहरु र समाजका लागि खतरा रहेकाहरुमाथि मात्रै कारवाही केन्द्रीत गर्ने भएको छ ।
३, डिपार्टमेन्ट अफ जस्टिसले कैयन अध्यागमन अदालतहरु बन्द गरेको छ । हिराशतमा रहेकाहरु बाहेकका अन्य सबैका सबैप्रकारका सुनुवाईहरु स्थगित गरिएको छ ।
४, अमेरिका र क्यानडाले सिमाबाट दुईदेशबीचको अत्वाश्यकबाहेक अन्य आवागमनमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । तर दुईदेशबीचको ब्यापारभने यसबाट प्रभावित हुनेछैन ।
५, अमेरिकामा शरणार्थी स्वीकार कार्यक्रम स्थगित गरिएको छ । युएन शरणार्थी एजेन्सीले नै पुनस्र्थापना यात्रा स्थगित गर्ने घोषणा गरेपछि अमेरिकाले यो कदम चालेको हो ।
६, आइसले अमेरिकाबाट देशनिकाला गर्नका लागि तय भएका केही उडानहरु स्थगित गरेको छ । तर आइसले देशनिकाला भने रोकेको छैन । एकसय दशमलव ४ डिग्री फरेनहाइटभन्दा माथि तापक्रम भएकालाई देशनिकालाको जहाजमा चढाउनेछैन, स्वास्थ्य टिमलाई हस्तान्तरण गरिनेछ ।
७, युएससीआईएसले सबै इन पर्सन सेवाहरु बन्द गरेको छ । एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु, बायोमेट्रिक अप्वाइन्टमेन्टदेखि इन्फोपास अप्वाइन्टमेन्टसम्म स्थगित गरिएका छन् । नागरिकता वितरण समारोहहरु स्थगित गरिएका छन् । युएससीआईएसले आई १४० लगायतका आवेदनमा शीघ्र प्रकृया स्थगित गरेको छ ।
८, आइसले इन पर्सन चेक इन स्थगित गरेको छ । हिराशतमा नभएका आप्रवासीहरुका इन पर्सन अप्वाइन्टमेन्ट अहिलेका लागि स्थगित गरिएको हो । साउर्दन सिमाबाटै हालै छुटेकालाई चेक इनका लागि ३० दिनको समयसिमा बढाएर ६० दिन बनाइएको छ । आइसले हिराशतहरुमा सामाजिक भेटघाट पनि स्थगित गरेको छ ।
९, ग्वाटेमालाले अमेरिकासँग एसाइलम सहमति खारेज गरेको छ । अमेरिकामा एसाइलम गर्नेलाई ग्वाटेमाला पठाउने उक्त सहमति खारेज भएको हो ।
१०, अमेरिकाले बेलायत, आयरल्याण्ड, २६ शेंगेन मुलुकहरुबाट अमेरिका आउन र ती मुलुकको विगत १४ दिनमा भ्रमण गरेकालाई पनि अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । चीन, इरान लगायतका मुलुकमा यस्तो प्रतिबन्ध अगाडि नै लगाइएको थियो । यो प्रतिबन्ध अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र परिवारका सदस्यलाई लागु हुनेछैन ।
११, अमेरिकाका विदेशमा रहेका कैयन कन्सुलेट र दूतावासले सेवा स्थगित गरेका छन् । कैयनले डिभी लोटरी र गैरआप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेका छन् ।