वर्क परमिटको नविकरण आवेदनमा युएससीआईएसले पुरानै बायोमेट्रिक प्रयोग गर्ने
प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार
अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने भएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग गरिने भएको हो ।
मार्च १८ पछि बायोमेट्रिकको मिति तय भएका आवेदकका आवेदनहरु पुरानै बायोमेट्रिकको प्रयोग गरेर प्रकृयामा लगिने भएको छ । एप्लीकेशन सपोर्ट सेन्टर खुला नहुँदासम्मका लागि यो नियम अपनाइने युएससीआईएसले जनाएको छ ।
युएससीआईएसले अप्रिल ७ सम्मका लागि सबै व्यक्ति भेट्नुपर्ने अप्वाइन्ट, अन्तरवार्ता र सेरेमोनीहरु स्थगित गरेको छ । यो अवधि अझ थपिनसक्ने सम्भावना रहेको छ । युएससीआईएसले आवेदकलाई भेट्नु नपर्ने आन्तरिक कामहरु भने सुचारु नै गरिरहेको छ ।
युएससीआईएसले एसाइलमका अन्तरवार्ता, ग्रिनकार्डका तथा नागरिकताका अन्तरवार्ता, बायोमेट्रिक अप्वाइन्टमेन्ट, नागरिकता वितरण समारोह लगायतका सेवाहरु स्थगित गरेको छ ।