नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो !


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतार दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले यसबारे थप विवरण आउन बाँकी रहेको र आएपछि विस्तृतमा जानकारी गराइने बताए । पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।

अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए । यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com