अमेरिकी सरकारबाट पासपोर्ट जारी र नविकरण बन्द
प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरेको छ । जीवन र मृत्युको इमर्जेन्सीमा बाहेक अन्य अवस्थामा नयाँ पासपोर्ट जारी गर्न र नविकरण गर्न बन्द गरिएको हो ।
इमर्जेन्सी अवस्थामा अमेरिकी विदेशमन्त्रालयले कडाईका साथ व्यक्तिगत अप्वाइन्ट सेवा प्रस्ताव गरेको छ । यो सेवा ७२ घण्टाभित्र अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने भएमा र जीवनमृत्युको सवाल भएको खण्डमा मात्र प्रदान गरिने भएको छ ।
प्रिवारका सदस्यहरुको मृत्यु, सिकिस्त बिरामी र घाइते भएको अवस्थामा यस्तो इमर्जेन्सी सेवा प्रदान गरिनेछ । मार्च १९ भन्दा अगाडि प्राप्त पासपोर्टका आवेदनहरु प्रकृयामा लगिनेछ तर जारी हुन केही ढिलो हुनेछ ।
मार्च १९ भन्दा अगाडि शीघ्र प्रकृयाका लागि आवेदन दिएकाहरुलाई दुईदेखि तीनसाताभित्र पासपोर्ट जारी गर्न प्रयास गरिने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । ७२ घण्टाभित्र इमर्जेन्सी पासपोर्ट चाहनेले जीवन र मृत्युको आपत दर्शाउने कागजात र जहाजको टिकटसमेत पेश गर्नुपर्ने प्रावधान छ ।
मार्च ३१ मा अमेरिकी विदेशमन्त्रालयले अमेरिकी नागरिकलाई अमेरिकाबाहिर यात्रा नगर्न सुझावसहित ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको महामारीका कारण यस्तो एड्भाइजरी जारी गरिएको हो ।