‘६ बर्षकी छोरीको प्राथना सुनेपछि लाग्यो – म बाँच्नुपर्छ’: कोरोनालाई जितेका न्युयोर्कका रायन
प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार
– किशोर पन्थी
न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको लडाईपछि अहिले पुनर्जन्म पाएजस्तो लागेको छ ।
विगत १७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका र झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका ४४ बर्षीय लाम्गादेलाई कोरोनाको संक्रमण हुँदा यति गाह्रो हुन्छ भने अनुमान पनि थिएन । जब उनले भोगे, त्यो भोगाई व्यक्त गर्नका लागि उनीसँग शब्द छैन । तर पनि उच्च मनोबल, सकारात्मक सोंच, औषधीउपचार र सावधानीका कारण कोरानालाई पराजित गर्न सकेकोमा उनी अहिले युद्धभूमिबाट लडाई जीतेर आएको सिपाहीजस्तै अनुभव गरिरहेका छन् ।
कोरोनाको लक्षण देखिनासाथ आइसोलेसनमा
बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा समेत ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा सन् २०१७ देखि कार्यरत छन् लाम्गाडे । अमेरिकामा संकटकालको घोषणा भएपनि र न्युयोर्कमा घरभित्र बस्न आदेश दिइएको भएतापनि उनी अत्यावश्यक कामदारमा पर्ने भएकाले नियमित काममा गइरहेका थिए ।
श्रीमति र दुईछोरीका साथमा न्युयोर्कको लङ आइल्याण्डको न्यु हाइडपार्कमा बस्दै आएका उनलाई मार्च ३० सोमबार अचानक विसन्चो भएको अनुभव भयो । उनलाई रुघाखोकी लागेको थियो भने ज्वरो आइरहेका समेत अनुभव भयो । उनलाई भित्रभित्र शंका लाग्यो – ‘कतै मलाई कोरोना भाइरसको संक्रमण त भएन ?’
उनलाई कोभिड १९ को टेस्ट गर्नुपर्ने सोंच आयो । तर यत्तिकै रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा न्युयोर्कमा कोरोनाको परीक्षण सहज थिएन । अस्पतालमा सिकिस्त नभएसम्म टेस्ट नगर्ने भएकाले गाह्रो थियो । उनले आफ्नो प्राइमरी केयर फिजिसियनको नेटवर्कले ड्राइभ थु्र टेस्ट गर्दै गरेको अनलाइनबाट थाहा पाए । त्यसपछि अनलाइनमा अप्वाइन्टमेन्ट बुक गरेर उनी मार्च ३० मा सोमबार कोभिड टेस्टका लागि गए । कोभिड १९ को टेस्ट गरेर घरमा आउँदा उनलाई हनहनी ज्वरो आइरहेको थियो ।
घरमा २ बर्ष र ६ बर्षका दुई छोरी भएकाले सबैभन्दा पहिले उनलाई आफूलाई कोरोना संक्रमण भइहाले पनि अरुलाई सर्न दिनुहुँदैन भन्ने मनमा लाग्यो । त्यसैले उनी छोरी र श्रीमति रहेको पहिलो तल्लामा छिर्दै नछिरी सरासर दोश्रो तलामा गए । यद्यपी कोरोनाको महामारी चर्को बन्दै गएदेखि नै उनले आफू बाहिर काम गर्ने भएकाले सावधानी अपनाउँदै आएका थिए । तर लक्षण देखिएपछि विशेष सावधानी अपनाएको बताउँछन् लाम्गादे ।
उनी भन्छन् – ‘कोरोनाको महामारी तीब्र बनेपछि मैले विशेष सावधानी अपनाउँदै आएको थिएँ । कामबाट फर्केर आएपछि काममा लगाएको सबै कपडा गाडीमा नै खोलेर गाडीमा रहेको कपडा लगाएर घरभित्र छिर्थें । आफूलाई भइहाले पनि अरुलाई नसरोस् भनेर घरमा रहदा पनि मास्क लगाएर बस्थें । परिवारको नजिक गएको थिइन । यस्तो अभ्यास हामीले मार्चको दोश्रोसातादेखि नै सुरु गरेका थियौं ।’
कोरोनाको परीक्षण गरेर सोमबार घरमा आएपछि उनलाई निकै गाह्रो भएको अनुभव भयो । सरासर माथिल्लो तलमा गएर एकहजार एमजीको एसिटामिनोफिन खाए । अनि आराम गरे । त्यसपछि उनलाई एकदमै पसिना आयो र ज्वरो निको भएको अनुभव भयो । उनलाई कोरोनाको संक्रमण नभई सामान्य रुघाखोकी र ज्वरो होला जस्तो लागेको थियो ।
कोरोनासँगको लडाईका भयानक एकसाता
त्यसैले मंगलबार अर्थात् मार्च ३१ मा उनी काममा गए । उनलाई ज्वरो र खोकी लागिरहेकाले उनी काममा पनि अरु सहकर्मीहरुको नजिक गएनन् । काममा पनि अरुलाई आफूसँग सामाजिक दुरी कायम राख्न प्रेरित गरे । काममा पनि उनले पीपीईको प्रयोग गरेका थिए । तर जब उनी मंगलबार बेलुका कामबाट फर्के तब उनलाई अझै च्याप्दै गएको अनुभव भयो । उनी भन्छन् – ‘म माथि गएर सुत्छु बच्चाहरुलाई मेरो छेउमा नपठाउनु भनेर श्रीमतिलाई भनें । त्यसपछि माथि आएर औषधी खाएर सुतें । दुईतीन घण्टापछि ज्वरो निको भएजस्तो भयो । त्यसपछि म खाना खाएर सुतें ।’
तर बुधबार अर्थात् अप्रिल १ मा विहान उठ्दा उनलाई अझ गाह्रो भएको अनुभव भयो । काममा जानसक्ने अवस्था नभएपनि उनी केही जरुरी काम भएको भन्दै काममा गए । काममा पुग्दा उनलाई एकदमै ग्रस्त बनाइसकेको थियो । जिउ दुख्ने र हिड्न गाह्रो हुने भइसकेको थियो । त्यसपछि उनी कामदार स्वास्थ्य सेवामा गए । त्यहाँ उनको ज्वरो चेक गरियो । उनलाई १ सय दशमलव ४ ज्वरो आएको थियो । कामदार स्वास्थ्य सेवाले तुरुन्तै उनलाई कोरोना संक्रमणको आशंका गर्दै घरमा गएर एकसाता आराम गर्न सुझाव दियो ।
त्यसपछि काममा गएका उनी विहान ११ बजे नै घर फर्किए । घरमा आइसक्दा उनलाई हिड्न पनि निकै गाह्रो भएको थियो । उनले आफूलाई सम्पूर्ण रुपमा परिवारका सदस्यबाट आइसोलेट गरेर माथिल्लो तलमा रहेको एउटा कोठामा गएर बसे । ज्वरो आउँदा टाइलोनेलहरु लिने गर्थे तर केहीसमयपछि ज्वरो फर्केर आउँथ्यो ।
अप्रिल १ पछिको एकसाता उनका लागि कठिनभित्रको पनि कठिन साता थियो । उनी भन्छन् – ‘मलाई गाह्रो भएपछि मेरो श्रीमती निकै आत्तिइन् । तर सहकर्मी र अन्य साथीहरुले सबैले थाहा पाएपछि स्वास्थ्यलाभका सन्देशहरु पठाउनुभयो । हामी तपाईको साथमा छौं, आत्मवल बढाउनुहोस् भन्ने सन्देशहरु पठाउनुभयो । जसले मनोबल उच्च बनाइरहेको थियो ।’
‘ढाडमा सिस्नोले हानेजस्तो पीडा हुन्थ्यो’
बुधबार राती सुतेको बेला उनको शरिरमात्र दुखेन, ढाडपनि असाध्यै दुख्यो । त्यो पीडा सम्झदै लाम्गादे भन्छन् – ‘मेरो ढाडमा सिस्नोले हानेजस्तो पीडा हुन्थ्यो । अत्यन्तै पीडाका कारण सुतेको बेला बेडमा कहिले कता फर्किन्थें त कहिले कता पछारिन्थे त्यो मलाई पनि थाहा हुदैनथ्यो । तरपनि मैले आफूलाई शान्त राख्न प्रयास गरिरहेको थिएँ ।’
मेट्रेस नरम भएका कारण ढाड दुखेको हो कि भन्ने लागेर उनी मध्यरातमा भुईमा रहेको गलैचामा लम्पसार परेर सुत्थे । भुईमा कहिले घोप्टो परेर त कहिले उत्तानो परेर सुत्थे । तर पनि दुखाई निको हुदैनथ्यो । यसरी नै रात विताएपछि विहानै श्रीमति तातोपानी, कागती पानी, बेसार पानी तयार पारेर ढोकामा आउँथिन् । उनले नियमित रुपमा बेसार र कागती पानी खाए । दिनमा कम्तीमा तीनपटक तातोपानीको बाफ लिए । उनी भन्छन् – ‘मैले घरेलु औषधीहरु, सुप र ज्वरोको औषधीका साथमा मनोबल पनि उच्च राख्ने प्रयास गरिरहेको थिएँ ।’
छोरीको प्राथनाले आत्मबल उच्च
समाचार हेर्दा डिप्रेसन जस्तो अनुभव हुने भएकाले उनले नियमित समाचारहरु हेर्न छाडे । श्रीमतिले उनलाई विभिन्न रमाइला टेलिभिजन शोहरु हेर्न प्रेरित गर्थिन् । उनी भन्छन् श्रीमतिले मलाई हरदम खुशी राख्न र सकारात्मक सोंच्न प्रेरित गर्थिन् । मलाई महजोडीका रमाइला शोहरु हेर्न प्रेरित गर्थिन् ।
यसरी नै ४ दिन बिते । कोराना भाइरससँगको उनको लडाई चलिरहको थियो । त्यस्तैमा एकसाँझ श्रीमतिले उनलाई मेसेन्जरमा कल गरेर ६ बर्षकी जेठी छोरीले उनका लागि प्राथना गरेको सुनाइन् । जब उनले छोरीको प्राथना सुने, उनी भक्कानीए । उनी गला अबरुद्ध पार्दै भने – ‘जेठी छोरीलाई मैले सुनेको छु भन्ने पनि थाहा थिएन । उनले मेरा लागि प्राथना गरिरहेकी थिइन् । भगवान तपाईसँग धेरै दूतहरु छन्, त्यसमध्ये एकजनामात्र दूत पठाएर मेरो ड्याडीलाई निको बनाइदिनुहोस् भनेर प्राथना गरिरहेकी थिइन् ।’
जब उनले छोरीले आफ्नालागि गरेको प्राथना सुने । उनी निकै भावुक भए । तर छोरीको प्राथनाका कारण उनको मनोबल अझ उच्च भयो । ‘मैले बाँच्नुपर्छ मैले केही गर्नुपर्छ भन्ने भाव मनमा आयो । मैले आफैले पनि उठेर प्राथना गरें ।’ – उनी त्यो रात सम्झदै भन्छन् ।
तर राती उनलाई अझ गाह्रो भयो । सुत्ने कोशिस गर्दा उनी सुत्न सक्दैनथे । सुत्न खोज्दा जिउ दुख्ने भएकाले रातीमा पाँचसातपटक उठेर बाहिरभित्र गरिरहे । उनलाई झनै समस्या भएजस्तो अनुभव भयो । तर पनि उनले मनोवल भने गिर्न दिएनन् । उनी भन्छन् – ‘सबैले मलाई सन्देश पठाएर उत्साहित गरिरहनुभएको थियो । मैले पनि मनोबल उच्च राख्ने प्रयास गरेको थिएँ । तर पनि विसेक हुने भन्दा पनि अझ च्याप्दै गएको जस्तो अनुभव भइरहेको थियो । वास्तवमा त्यतीबेला कोरोनाको संक्रमण उच्चतम बिन्दुमा पुगेको रहेछ ।’
उनलाई अप्रिल ५ आइतबार सम्म आइ पूग्दा समेत लागेको थियो । यत्तिकैमा उनले न्युयोर्कमा नेपालीहरुको मृत्युको खबर देखे, त्यसपछि उनलाई डर लाग्यो । उनी भन्छन् – ‘मलाई डर लागेर आयो कतै म पनि यही तथ्यांकमा पर्ने त होइन भनेर । शरिर कमजोर भएपछि यस्ता खालका सोंच आउनु पनि स्वभाविक नै रहेछ ।’
तर उनी अचानक उठे । र चिच्याउँदै प्राथना गर्न थाले । ‘तैंले मलाई केही गर्न सक्दैनस् ।तँलाई मैले जितेको छु । तँ अहिले नै जा । म आफूलाई निको भएको घोषणा गर्छु ‘ – भन्दै उनी चिच्याए । उनी रुदै कराउँदै प्राथना गरे । त्यसपछि उनको मन हल्का भयो ।
श्रीमतिले सुप, तातोपानी र औषधी खुवाइरहेकी थिइन् । उनले पनि मानसिक रुपमा सबल हुनुपर्ने महसुस गरेर उठेर बस्न थाले । त्यो रात उनी अलिक धेरै सुत्न सके ।
निको हुँदै गएको बेला कोरोना पोजेटिभको खबर
सोमबार विहान मलाई केही राहत मिलेको अनुभव भयो । उनी कमजोर थिए, शरिर कापिरहेको थियो । उनलाई निको हुँदै गएको अनुभव भएको थियो । तर त्यही दिन उनका लागि नराम्रो खबर आयो । दिउसो फोन गरेर डाक्टरले उनलाई कोरोना पोजेटिभ भएको खबर दिए । आफूलाई कोभिड १९ पोजेटिभ भएकोमा उनी पहिलेदेखि नै विश्वस्त थिए, त्यसैले यो खबरले उनलाई विचलित बनाएन । तर श्रीमति भने आत्तिइन् ।
‘मलाई कोरोना संक्रमण भएको र एकदमै पिकमा गइरहेको कुरा मेरो जिउले भनिरहेको थियो । स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले त्यो मलाई महसुस भएको थियो । तर जब डाक्टरले पुष्टी गरेको खबर श्रीमतिलाई सुनाएँ, उनी रुन थालिन् ।’ – उनले भने ।
मंगलबार अर्थात् अप्रिल ७ मा उनलाई अलिक राम्रो भएको अनुभव भयो । खोक्दा फोक्सोका पछाडि दुखेजस्तो अनुभव त हुन्थ्यो । मास्क लगाएर कुरा गर्दा स्वास फेर्न गाह्रो भएजस्तो अनुभव हुन्थ्यो । तर उनलाई पहिलेभन्दा निको हुँदै गएको अनुभव भइरहेको थियो ।
बुधबार र बिहिबारदेखि उनको स्वास्थ्यमा सुधार आयो । अप्रिल १० शुक्रबारदेखि उनले आफूलाई लगभग पूरै निको भएको अनुभव गरेका छन् । उनी भन्छन् – ‘अहिले अलिअलि खोकी छ । कोरोना संक्रमण हुँदा फोक्सोलाई असर गरेको हुनाले त्यो स्वभाविक हो । तर अब म कोभिड १९ बाट निको भएको छु । कुनै कमजोरी महसुस भएको छैन । म बलियो भएको अनुभव भएको छ ।’
विशेष सावधानी अपनाएकाले परिवारमा संक्रमण फैलिएन
आफूले विशेष सावधानी अपनाएकाले श्रीमति र छोरीहरुमा संक्रमण हुन नपाएको बताउँछन् उनी । उनी भन्छन् – ‘मलाई संक्रमण भएपछि श्रीमति र बच्चालाई बचाउनेमा मेरो चिन्ता थियो । त्यसैले हामीले सामाजिक दुरी र सावधानी अपनायौं । मेरो पोजेटिभ पुष्टी भएपछि श्रीमति र छोरीहरुलाई बचाउनु मेरो कर्तब्य थियो । त्यसैले म पूर्णरुपमा आइसोलेसनमा बसें । उनीहरु बस्ने तलामा कहिले पनि गइन ।’
उनले अरु सबैलाई सावधानी अपनाउन सुझाव समेत दिएका छन् । उनी भन्छन् – ‘परिवारमा कोरोनाले सताएको छ भने नआत्तिनुहोस् । उच्च मनोबल राख्नुहोस् । परिवारबीचको सामाजिक दुरी कायम गरिराख्नुहोस् । यदि पुष्टी भएको छैन भने पनि परिवारमा कुनै सदस्यलाई संक्रमण भएको हुनसक्छ । बाहिर सामान लिनजाँदा संक्रमित भएर आएको हुनसक्छ । त्यसबाट परिवारको अरु सदस्यलाई पनि लाग्नसक्छ । त्यसैले शतर्कता कायम गर्नुहोला ।’
कोरोनाको महामारी समाप्त नहुँदासम्म सबैलाई आफूलाई भएको सरह नै व्यवहार गर्नुपर्ने उनको भनाई छ । त्यसैले उनी परिवारका सदस्यहरुबीच पनि दुरी कायम गर्न र छरिएर सुत्न सुझाव दिन्छन् । उनी भन्छन् – ‘पहिले कुनै स्वास्थ्य समस्या नभएकाहरुले त कोरोनाबिरुद्ध लड्न सक्लान् । तर पहिले नै स्वास्थ्य समस्या भएकाहरुलाई अझ गाह्रो हुन्छ । त्यसैले शतर्कता अपनाउनुपर्छ । अहिले बाहिर एकछिन जान नपाएको पीडा हुनसक्छ तर बाहिर जाँदा कोरोनाले समात्यो भने अझ ठूलो पीडा हुन्छ ।’
‘परिवारलाई बचाउन आफू बच्न र छरछिमेकलाई बचाउन घरमै बस्नुहोस । सामाजिक दूरी कायम गर्नुहोस् । हाम्रो परिवारले कोरोनाले जितेको छ । तपाई पनि संक्रमित भइहालेमा यसलाई जित्न सक्नुहुन्छ । तपाई एक्लो हुनुहुन्न । सबै मानवजाती नै कोरोना भाइरसको बिरुद्ध छ । सबै मिलेर लड्नुपर्छ ।’- लाम्गादेले भने ।