फ्याक्ट चेक : १२ सयको राहत आगामी सिजनको ट्याक्स रिटर्नको एड्भान्स रकम हो ?
प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार
कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटबाट जुध्न अमेरिकी सरकारले करदातालाई प्रदान गर्न सुरु गरेको १२ सय डलरको राहत रकमबारेका विभिन्न अफवाह सामाजिक सञ्जालहरुमा फैलिरहेका छन् । त्यसमध्ये एउटा अफवाह अहिले उक्त राहत रकम प्राप्त गर्नेले सन् २०२० को ट्याक्स फाइल गर्दा रिफण्ड पाउने भएमा रिफण्ड घटाएर पाउने र आईआरएसलाई तिनुपर्ने भएमा अहिले पाएको रकम जोडेर तिनुपर्ने भन्ने हो ।
यो हल्ला सत्य होइन । आईआरसले यसबारेमा स्पष्टसँग भनेको छ – ‘अहिले उक्त राहत रकम प्राप्त गर्नेहरुले सन् २०२० को ट्याक्स फाइल गर्दा रिफण्ड पाउने भएमा यो रकम घटाइने छैन र आईआरएसलाई ट्याक्स तिर्नुपर्ने भएमा पनि यो रकम जोडिने छैन ।’
आईआरएसले राहत रकम करदातालाई पठाउन सुरुगरेदेखि नै विभिन्न मेम भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सुरुमा टिकटकमा पोष्ट गरिएको उक्त भिडियो टिकटकले हटाइदिएको छ । तर यो भिडियो फेसबुकमा भने भाइरल भइरहेको छ ।
उक्त भिडियोमा भनिएको छ – ‘सरकारले तपाईहरुलाई नबताएको कुरा के हो भने तपाईले अहिले पाएको रकम तपाईले सन् २०२० को ट्याक्स फाइलबाट पाउने रकमको एड्भान्समात्र हो । अर्कोबर्ष तपाईले आईआरएसलाई यसबापत स्वत १२ सय डलर तिनुपर्नेछ ।’
भिडियोमा दावी गरिएको यो विवरण शतप्रतिशत गलत छ ।
फेसबुकमा उक्त भिडियो गलत सुचना भन्दै कभर गरिएको छ । स्वतन्त्र फ्याक्ट चेकरहरुले यसको फ्याक्ट चेक गरेपछि फेसबुकले दर्शकहरुलाई भिडियोको सुचना गलत भएको जानकारी गराएको छ ।