राष्ट्रपति ट्रम्पबाट ६० दिनका लागि अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी आदेश जारी
प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी आदेश जारी गरेका छन् । यो आदेश भोलि राती ११ बजेर ५९ मिनेट जाँदा लागु हुनेछ ।
कार्यकारी आदेश लागु भएको बखत अमेरिकाबाहिर रहेकाहरुका सन्दर्भमामात्र यो रोक लागु हुनेछ । त्यस्तै यो आदेश लागु भएको बखत आप्रवासी भिसा नभएकाहरुलाई पनि यो रोक लागु हुनेछ । अर्थात् पहिले नै आप्रवासी भिसा लिइसकेकाहरुलाई भने अमेरिका प्रवेशमा रोक लगाइनेछैन ।
त्यसैगरी यो कार्यकारी आदेश लागु भएको मितिमा एड्भान्स परोल, ट्रान्सपोर्टेशन लेटर, उपयुक्त यात्रा कागजात लगायतका भिसा बाहेक अन्य ट्राभल डकुमेन्टहरु नभएकाहरुलाई पनि अमेरिका प्रवेशमा रोक लाग्नेछ ।
पहिले नै अमेरिकाको ग्रिनकार्ड लिइसकेकाहरुलाई यस्तो रोक लाग्नेछैन । अर्थात् ग्रिनकार्डवाहकहरु अमेरिकाबाहिर रहेको अवस्थामा यो कार्यकारी आदेश लागु भएकै अवस्थामा पनि अमेरिका आउन सक्नेछन् ।
त्यस्तै फिजिसियन, नर्स, अन्य स्वास्थ्यकर्मीका रुपमा आप्रवासी भिसामा अमेरिका आउनेहरुलाई पनि रोक लाग्नेछैन । कोरोना भाइरसको फैलावट रोक्नका लागि अमेरिकामा मेडिकल रिसर्च वा अन्य रिसर्चका लागि आप्रवासी भिसामा आउनेहरुलाई पनि रोक लाग्नेछैन ।
त्यस्तै अमेरिकामा लगानीमा आधारित ग्रिनकार्ड ईबी फाइभमा आउन पनि कुनै रोक लाग्नेछैन । अमेरिकी नागरिकको दम्पत्तिलाई पनि रोक लगाइनेछैन भने अमेरिकी नागरिकको २१ बर्ष मुनीको बच्चाहरुलाई पनि रोक लाग्नेछैन ।
अमेरिकी सेनाका सदस्यहरु वा उनीहरुका दम्पत्ति वा छोराछोरीहरुलाई पनि रोक लाग्नेछैन । अमेरिकी सरकारको राष्ट्रिय रुचीमा आउनेहरुलाई पनि कुनै रोक लाग्नेछैन । त्यस्तै यो कार्यकारी आदेशले अमेरिकामा एसाइलम खोज्नपनि रोक नलाग्ने जनाइएको छ ।