युएससीआईएसमा आवेदक उपस्थीत हुनुपर्ने सेवा थप एकमहिना स्थगित, जुन ४ पछि खोल्ने
प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार
आगामी जुन ४ पछिमात्र अफिस खोल्ने युएससीआईएसले तयारी गरेको छ । गत मार्च १८ बाट युएससीआईएसले व्यक्ति उपस्थीत हुनुपर्ने सबै सेवाहरु स्थगित गरेको थियो ।
मे ३ सम्म युएससीआईएसले सबै अप्वाइन्टमेन्टहरु स्थगित गरेकोमा अब जुन ४ पछिमात्र अफिस खोल्ने तयारी गरेको हो । युएससीआईसले कोरोनाको महामारी फैलिनबाट रोक्न एसाइलम अन्तरवार्ता, युएससीआईएसका ग्रिनकार्ड र नागरिकता लगायतका अन्तरवार्ता, बायोमेट्रिक अप्वाइन्टमेन्ट, नागरिकता वितरण समारोहहरु स्थगित गर्दै आएको छ ।
यसअगाडि मे ४ बाट सेवा सुचारु गर्ने योजना बनाइएपनि अब त्यो म्याद एकमहिना पछाडि सारेर जुन ४ बनाइएको छ । युएससीआईएसका कर्मचारीहरुले सेवाग्राही वा आवेदकलाई भेट्नु नपर्ने सबैकाम ने सुचारु नै गरिरहेका छन् । कार्यालय बन्द रहेको अवस्थामा समेत युएससीआईएसले सेवाग्राहीलाई आपतकालिन अवस्थाका कारण भेट्नुपरेमा त्यस्तो सेवा प्रदान गर्दै आएको छ ।
युएससीआईएसका फिल्ड अफिसहरुले स्थगित अप्वाइन्टमेन्ट, अन्तरवार्ता र नागरिकता वितरण समारोहबारे आवेदकलाई सुचना पठाउनेछन् । एसाइलम अफिसले पनि अन्तरवार्ता रद्द भएकोबारे आवेदकलाई सुचना पठाउनेछ । उनीहरुको नयाँ अन्तरवार्ता मिति अटोमेटिक रुपमा तय गरिनेछ ।
युएससीआईएसका कार्यालयहरु खुलेपछि बायोमेट्रिकका लागि पनि नयाँ सुचना पठाइनेछ । आवेदकहरुले पत्रमा नयाँ अप्वाइन्टमेन्टको मिति पाउनेछन् । इन्फोपास अप्वाइन्टमेन्ट भएकाहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा कार्यालय खुलेपछि फोन गरेर नयाँ अप्वाइन्टमेन्ट लिन सक्नेछन् ।
अदालती सुनुवाई मे १५ सम्म स्थगित
अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका हेयरिङ मे १५ सम्म स्थगित गरिएको छ । मे १५ सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका सबै हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।
यसअगाडि मे १ सम्मका लागि स्थगित गरिएकोमा त्यसलाई बढाएर मे १५ बनाइएको हो । अमेरिकाका कैयन अध्यागमन अदालतहरु पूर्णरुपमा बन्द गरिएका छन् भने कतिपय आंशिक रुपमा खुल्ला रहेका छन् ।
Hearings in non-detained cases are postponed through May 15, 2020.
— DOJ EOIR (@DOJ_EOIR) April 21, 2020
कुन अदालत खुल्ला छन् कुन बन्द छन् थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।
अदालती सुनुवाई स्थगित हुँदा त्यसको मार नेपालीहरुमा पनि परेको छ । अमेरिकी अध्यागमन अदालतमा नेपालीहरुका झण्डै ४ हजार केसहरु अनिर्णित अवस्थामा रहेका छन् । त्यसमध्येको कैयनको अदालती सुनुवाई मार्च, अप्रिल र मे महिनाका लागि तय भएका थिए ।
बर्षौ कुरेर अदालती सुनुवाईको मिति पाएकाहरुले अब अर्को मिति कहिले प्राप्त गर्ने हुन् भन्नेबारे केही टुंगो लागेको छैन । जसका कारण बर्षौ अमेरिकामा अदालतको फैसला कुरेर बसेका र छिट्टै परिवार भेट्ने आशामा रहेकाहरुको भविश्य थप अन्यौलग्रस्त भएको छ ।