गत अक्टोबरमा भरेको डिभी लोटरीको नजिता स्थगित
प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार
गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएको थियो । तर अब मे ५ मा डिभी लोटरीको नतिजा नआउने भएको छ ।
अमेरिकी विदेशमन्त्रालयले गरेको घोषणा यहाँ पढ्नुहोला ।
अमेरिकी विदेश मन्त्रालयका अनुशार डिभी लोटरीको नतिजा सार्वजनिक हुने दिन झण्डै एकमहिना पछाडि सारिएको छ । डिभी लोटरीको नतिजा अब जुन ६ मामात्र सार्वजनिक हुने भएको छ ।
अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अहिले अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालको भनाई छ ।
डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु गरिनेछ । अमेरिकी कानुन अनुशार डिभी कार्यक्रमका लागि अमेरिकी विदेशमन्त्रालयले आफ्नो भूमिका गम्भिरतापूर्वक लिने जनाएको छ ।
जुन ६ पछि डिभी लोटरीको नतिजा चेक गर्न यहाँ क्लिक गर्नुहोला ।
चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुको पनि अन्तरवार्ताहरु अहिले स्थगित गरिएको छ । मार्चको दोश्रोसातादेखि कन्सुलेटहरुले डिभी लोटरीका अन्तरवार्ताहरु स्थगित गरेका थिए । यसैसातादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि ६० दिनका लागि डिभी लोटरीका अन्तरवार्ताहरु विश्वब्यापी रुपमा नै स्थगित भएका छन् ।
भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्कीए, २६ सय बढीको भिसा अनिश्चित
अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका आउन नपाएका हुन् ।
मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।
फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।
डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।
अप्रिल २३ को मध्यरातपछि अमेरिकी सरकारले अधिकांश आप्रवासी भिसा जारी गर्न ६० दिनका लागि स्थगित गरेको छ । त्यसैले अब जुनको अन्तिम सातासम्म डिभी लोटरी विजेताहरुलाई भिसा जारी नगरिने भएका कारण यो अवधिमा भिसा पाउने अपेक्षा गरेका झण्डै १२ सय देखि १५ सय डिभी विजेता नेपालीहरु अन्यौलमा परेका छन् ।
चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् । बाँकी २६ सय भन्दा बढी नेपाली डिभी विजेताहरु अमेरिका आउन पाउने वा नपाउने अनिश्चयमा रहेका छन् ।
किनभने राष्ट्रपति ट्रम्पले आप्रवासनमा जुनपछिपनि आप्रवासमा रोक लगाएभने उनीहरु अमेरिका आउन पाउने छैनन् । किनभने चालु आर्थिक बर्षमा डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसकेको हुनुपर्छ । अन्यथा उनीहरु अमेरिका आउन पाउनेछैनन् । राष्ट्रपति ट्रम्पको आप्रवासन रोक नलम्बिएपनि त्यसपछि बाँकी रहने तीनमहिनाको अवधिमा दूतावासले धेरैको भिसा प्रकृया गर्न सम्भव देखिन्न ।
दूतावासको अहिलेसम्मको क्षमता अनुशार महिनामा अधिकतम २८३ जना प्राथमिक डिभी विजेताको भिसामात्र प्रकृयामा लगेको देखिन्छ । अर्कोतर्फ डाइभर्सिटी भिसा पाइसकेका अन्य कैयन नेपालीहरु ६ महिनामा अमेरिका आउन नसक्दा उनीहरुको भिसा नथपिने हो कि भन्ने चिन्ता समेत बढेको छ ।