जुफालदेखि न्युयोर्कसम्म : शास्त्रीय संगीतका विद्यार्थी विमल बने लोकगीतका पानस
प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार
– विष्णुप्रसाद पौडेल
पृथ्वीनारायण क्याम्पसको चौर । एउटा ठिटो त्यही चौरमा गीत गुन्गुनाउँथ्यो । साथीभाइले हौस्याउँथे । दाइदिदीहरुले आहा क्या मिठो स्वर भन्दै उकास्थे । आफ्नै दाइ साथीभाइ माझ आफ्नो भाइको तारिफ गरेर थाक्दैनथे । साथीभाइ बटुल्थे र भाइलाई गीत गाउन लगाइहाल्थे । भाइ विस्तारै क्याम्पसमा चिनिन थाले । भाइलाई पनि पृथ्वीनारायण क्याम्पसभन्दा संगीत पढ्ने जोश चढ्यो । अनि पोखरा छाडेर काठमाडौं हानिए ।
२०५६ सालमा एसएलसी पास गरेर दाइले जस्तै पोखरामै पढ्ने भनेर आएको त्यो ठिटो जसै काठमाडौं पुग्यो, ललितकला क्याम्पसमा भर्ना भएर संगीत पढ्न थाल्यो । पढाइ संगीतको चल्दै थियो । डोल्पाका भिरपाखामा जस्तै, पोखराको क्याम्पसका चौरमा जस्तै काठमाडौंमा पनि उसको गुनगुनाहट उस्तै रह्यो ।
पढ्दा पढ्दा २०५७ मा एउटा एल्बम निकाल्यो । पहिलो गीतले क्याम्पसबाहिर परिचय बनायो । अनि विमल डाँगीले गीतसंगीतको क्षेत्रमा पछाडि फर्किन परेन । एकातिर लोकगीत गाउने, अर्काेतिर दोहोरी रेस्टुरेन्टमा गाउने ।
विमल डाँगी चिनाउन पर्ने नाम हुन छाड्यो । दोहोरी साँझ पनि फेरि फेरि गाउन थाले । पछि आफैंले पानस दोहोरी साँझ खोले । पानस उनलाई फापेको शब्द थियो । पानसमा बत्ती बालेको. कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको गीत बिमाकुमारी दुरासँग मिलेर गाएको गीतले विमललाई चर्चाको शिखरमा पु¥याएको थियो ।
पानस दोहोरी साँझ भनेर आफैंले दोहोरी साँझ खोलेको ६ महिनापछि विमल अमेरिका आएका हुन् । त्यसयता यतै छन् । तर लोकदोहोरीको संगत र सिर्जनाकर्म छुटेन । छुटोस पनि किन उनी स्कुले उमेरदेखि नै लोकगीत भनेपछि हुरुक्कै थिए । स्कुलमा अतिरिक्ति क्रियाकलापका कार्यक्रममा हुँदा उनी गाउँथे र प्रथम भइरहन्थे ।
नेपालमा चर्चामै हुँदा अमेरिकामा आका हुन् । चर्चा त यहाँ आएपछि पनि पछिपछि नै लागेर आयो । तर यसरी अमेरिका आउँदा उनी युवा वयमै थिए, र गाइसकेका थिएनन्- बुढेसकालमा विदेश जाँदैछ, उमेर छँदै केही गर्नै सकिनँ..। यो गीत भने उनले विदेश अर्थात अमेरिका आएपछि नै गाए २०७६सालमा ।
डोल्पाको साविक जुफाल गाविस हो, विमलको घर । डाँगीबडा भन्ने गाउँमा हुँदा नै उनको रुचि गाउँकै दुखपीडाका गीतमा थियो । आजपर्यन्त त्यस्तै गाउँघरका शब्द खोजीखोजी गाउँछन् । भन्छन्, मेरो स्वरमा पनि त्यही सुहाउँछ जस्तो लाग्छ ।’ उनी शब्दअनुसारको लय आओस् भन्ने चाहन्छन् ।
ललितकला क्याम्पसमा विमलले पढेको शास्त्रीय संगीत हो । तर लोकगीततिर रमाएँ । भन्छन्, ‘किनभने संगीत पढ्दा पढ्दै लोकगायनमा चर्चित भइसकेको थिएँ । सुरुआती दिनमै ‘पानसमा बत्ती बालेको’ गीत २०६१ सालमा एकदमै चलिहाल्यो ।’
२०५७ सालमा पहिलो र २०५८ साल फेरि अर्काे एल्बम निकालेर हिट भइसक्दा पनि विमलले आफ्नो स्वरमा कसी लगाउन छुटाएका थिएनन् ।
त्यसैले २०५९ सालमा रेडियो नेपालको स्वर परीक्षा दिए । सजिलै पास गरे । २०६१ सालमा रेडियो नेपालको लोकगीतको प्रतियोगितामा प्रथम भए । विदेश आइसकेर पनि लोकगीतलाई छोड्न मन नलागेको बारे विमलको यस्तो स्पष्टोक्ति छ—आफूले जाने र आफूले मनदेखि रुचाएको पेसा हो संगीत । काम गर्ने र परिवारलाई अगाडि बढाउने कामसँग सँगै संगीतलाई अगाडि बढाउने गरिरहेको छु । नेपालमा पनि रेस्टुरेन्ट खोलेको थिएँ, यहाँ आएर पनि दोहोरी गीतलाई अगाडि बढाउने काम गरें ।
नेपालमै जस्तै सिर्जनामा तल्लीन हुन नसके पनि तर यसलाई छोड्ने मनस्थिति कदापि छैन विमलको । अमेरिकामा पनि आइसकेपछि जीवन यापन गर्न संगीतको माध्यम थियो । तर त्यतिले मात्रै नपुग्ने हुँदा अरु काम पनि सँगसँगै गरे । नाम र पुरस्कारहरु पाए । भन्छन्, ‘त्यो ठूलो कमाइ हो जस्तो लाग्छ ।’
१७ वटा जति राज्यहरु घुमे । कति राज्यमा दोहो¥याइ तेह¥याइ गए । जापानबाट पनि अफर आएको थियो । जान पाएनन् । २०६५ सालमा पहिलो एकल साँझ गरेका उनको त्यस्तै साँझ २०७० सालमा भएको थियो ।
विमल अमेरिका आउनेबित्तिकै पहिलो कार्यक्रम बाल्टीमोरमा भएको थियो । त्यहाँ थुपै्र कलाकार थिए । प्रेमराजा महतको घरमा बसेका थिए । त्यहाँ निकै सम्झनालायक कार्यक्रम भएको उनी सुनाउँछन् । अमेरिकामा रहेका अरु कलाकारसँग पनि उनको सहकार्य भइरहन्छ । ‘टेक्सस र बाल्टिमोरतिर बस्ने साथीहरुसँग आत्मीय सम्बन्ध जोडिरहेको छु,’ उनी भन्छन् ।
नेपालमा जुन पेसा व्यवसायमा भए पनि यहाँ आएर सबैले त्यसलाई निरन्तरता दिन कठिन छ । अमेरिका आखिर संघर्षको थलो हो । लोकगीत होस् या नेपाली कलाको बजार त्यति ठूलो छैन, जसले सबै काम कुरा छोडेर त्यसैमा रमाउन दिओस् । तर विमल भने यही लोकसंगीतमा निरन्तर बलिरहेका छन्, एउटा पानस बनेर ।
(यो फिचर सबैभन्दा पहिले नेपालयन्यूजमा प्रकाशित भएको हो ।)