राहतको १२ सय डलर सिधै बैंक एकाउन्टमा पाउन विवरण दिने म्याद ४ दिनमात्र


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले प्रदान गर्ने आर्थिक राहत रकम सिधा बैंक एकाउन्टमा प्राप्त गर्नका लागि बैंक एकाउन्टको विवरण दिने म्याद ४ दिनमात्र बाँकी रहेको छ । मे १३ को दिउसो १२ बजेसम्ममात्र बैंक एकाउन्टको विवरण प्रदान गर्न सकिने आइआरएसले जनाएको छ ।

अधिकांशले प्राप्त गर्ने १२ सय डलर बैंक एकाउन्टमा छिटो र सहजतरिकाले पाउने बैंक एकाउन्टको विवरण प्रदान गर्न आईआरएसले सुझाव दिएको छ । मे १३ पछि डाइरेक्ट डिपोपजटका लागि बैंक एकाउन्टको विवरण दिने विकल्प समाप्त हुने जनाइएको छ ।

मे १३ सम्म पनि बैंक एकाउन्ट नदिनेहरुलाई आईआरएसले कागजी चेक हुलाकमार्फत पठाउनेछ । यद्यपी आइआरएसले अप्रिलको तेश्रो सातादेखि नै कागजी चेक हुलाकबाट पठाउन सुरु गरिसकेको छ । कागजी चेक नपठाइसकेकाहरुका हकमा भने अनलाइनमार्फत बैंकको विवरण बुझाउन सकिने विकल्प रहेको थियो ।

अनलाइनमार्फत बैंक एकाउन्टको विवरण दिनका लागि ‘गेट माइ पेमेन्ट‘मा क्लिक गरेर आफ्नो स्टाटस चेक गर्नुपर्छ । स्टाटसमा तपाईको चेक हुलाकमार्फत पठाइसकेको छैन वा पठाउने तय भइसकेको छैन भने बैंक एकाउन्टको विवरण उल्लेख गर्ने विकल्प दिइएको हुन्छ ।

आइआरएसले कम आम्दानी भएका कारण ट्याक्स बुझाउनु नपर्ने होमलेसहरु समेत यो रकम प्राप्त गर्नका लागि योग्य हुने जनाएको छ । तर उनीहरुले अनलाइनमार्फत ‘नन फाइलर्स’ मा गएर आफ्नो विवरण बुझाउनुपर्छ । यद्यपी अमेरिकामा होमलेस लगायत कैयनको अनलाइनमा पहुच नभएका कारण र अनलाइनमार्फत विवरण बुझाउनका लागि श्रोतसाधन नभएका कारण उनीहरु रकम प्राप्त गर्नबाट वञ्चित रहेका छन् ।

सन् २०१९ मा अमेरिकाको आप्रवासी भिसामा अमेरिका आएका तर सन् २०१९ को ट्याक्स फाइल गर्न नपर्नेहरुले पनि यो रकम प्राप्त गर्नसक्नेछन् । उनीहरुले पनि नन फाइलर्समा गएर आफ्नो विवरण बुझाउनुपर्छ ।

कोही व्यक्ति सन् २०१८ को अन्त्यतिर वा सन् २०१९ को सुरुतिर अमेरिकामा आप्रवासी भिसामा आएको छ तर उसले सन् २०१९ को ट्याक्स फाइल गरिसकेको छैन भने उनीहरुले यथाशक्य ट्याक्स फाइल गर्नुपर्छ । उनीहरुको आम्दानी सन् २०१९ मा १२ हजार २ सय भन्दा कम थियो र अहिलेसम्म ट्याक्स फाइल गरेका छैनन् भने उनीहरुले नन फाइलर्समाफर्त विवरण बुझाएर रकम प्राप्त गर्नसक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com