महामारीमा सबैलाई सहयोग गर्दै मनकारी बिष्णुमाया
प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार
न्यूजर्सी । कोरोना संक्रमणका कारण अमेरिका यतिबेला नयाँ इपिसेन्टर बनेको छ । अमेरिकाको सबै भन्दा बढी प्रभावित राज्य न्यूयोर्क हो भने न्यूयोर्क संगै जोडिएको राज्य न्यूजर्सी अमेरिकाको दोश्रो प्रभावित राज्य हो ।
न्यूजर्सीमा रहेका बिभिन्न सामाजिक संघ सस्थाहरुले सामुहिक रुपमा अहिले नेपाली समुदायको सुरक्षाका लागि काम गरिरहेका छन् । न्यूजर्सी राज्यमा बस्ने जर्सी सिटी मेयर सल्लाहकार सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार लगायतको एउटा समुह पनि अहिले आफ्नो कामसंगै सामाजिक कार्य समेत व्यस्त छ ।
राज्य सरकारबाट आउने औषधी लगायत अत्यावश्यक सामाग्रीहरु बितरण गर्नका लागि बिष्णुमाया परियार स्थानिय संघ सस्थाहरुसंग सहकार्य गर्दै काम गरिरहेकी छन् । उनले अहिले सम्म ६० भन्दा बढी परिवारलाई प्रत्यक्ष भेटेर औषधी लगायतका अत्यावश्यक सामाग्रीहरु बितरण गरिसकेकी छन् ।
सामाजिक अभियान्ता परियार भन्छिन्, हामी अहिले एक अर्काको सहयोगका लागि जुटिरहेका छौं । बिष्णुमायाकै पहलमा हाल सम्म ४९ परिवारलाई प्रत्यक्ष सहयोग गरिएको छ, भने थप १२ परिवारलाई अन्य समुहमा रहेका सामाजिक अभियान्ताहरुले सहयोग गरिसकेका छन् ।
यसका साथै न्यूजर्सीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई समेत बिष्णुमायाले सहयोग गर्दे आएकी छन् । उनका अनुसार हाल सम्म १०२ जना बिद्यार्थीहरुलाई खाद्यान्न लगायतका सामाग्री बितरण गरिएको छ ।
भन्छिन् – ‘यहाँ सार्वजनिक सवारी कम चल्छन्, विश्वविद्यालयहरु पनि गाउँमा छन्, यसर्थ हामीले सहयोग मागेका बिद्यार्थीहरुलाई त्यहाँ सामान पुराउने काम गर्यौं । परियार नेपाली बिद्यार्थीहरुलाई फल सेमेस्टरका लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा होमवर्क गरिरहेकी छन् ।’
बिष्णुमाया कोरोना महामारीमा अत्यावश्यक पर्ने सहयोगका साथै घरेलु हिंसा भोगिरहेकाहरुको सहयोगका लागि समेत काम गरिरहेकी छन् ।