नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने ९ दिनकी सुत्केरी २९ बर्षकी सावित्रा


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने सुत्केरी महिला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ बर्षकी सावित्रा तिम्सिना रहेकी छिन् । उनी ९ दिनकी सुत्केरी हुन् ।

सिन्धुपाल्चोककी ती महिला बैशाख २३ गते महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते बच्चा जन्मिएको र २५ गते अस्पतालबाट डिस्चार्ज भएकी महिला सिन्धुपाल्चोक घर गएकी थिइन् ।

त्यसपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । तर समस्या जटिल भएपछि धुलिखेल अस्पतालमा उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको हो । कोरोनाको परीक्षण गर्दा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या २८१ पुगेको छ । धनुषाका दुईजनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या २८१ पुगेको हो । उनीहरुको अवस्था सामान्य रहेको छ ।

मृतक महिलाको गाउँ सिल, सेना पनि परिचालन

यसैबीच  सिन्धुपाल्चोकमा निधन भएकी महिलाको गाउँ सिल गरिएको छ । सम्भावित सङ्क्रमणलाई रोक्न बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको गाउँ सिल गरिएको हो ।

सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ ।

साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो ।रासस

तस्वीर  : शिक्षण अस्पताल महाराजगञ्जको फाइल फोटो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com