कागजपत्रविहिनलाई ५ सय डलर राहत दिनका लागि आवेदन खुल्ला, परिवारलाई १ हजार
प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार
अमेरिकाको क्यालिफोर्नियामा आजदेखि कागजपत्रविहिनले पनि राहतका लागि आवेदन दिनसक्ने भएका छन् । कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न उनीहरुले राहत रकम प्राप्त गर्नसक्ने भएका छन् ।
गभर्नर ग्याभिन न्युसोमले गत महिना कागजपत्रविहिनका लागि १२५ मिलियनको कोरोनाभाइरस विपत फण्डको घोषणा गरेका थिए । १२ सय डलरको संघीय राहत रकमका लागि अयोग्य हुनेहरु र अध्यागमन स्टाटसका कारण बेरोजगारी विमा रकम पाउन नसक्नेहरुले यो कोषबाट राहत पाउनेछन् ।
आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोला ।
तपाईले माथिको सुचीमा रहेका १२ मध्ये कुनै एउटा गैरनाफामुलक संस्थालाई सम्पर्क गर्नुपर्नेछ । आफ्नो क्षेत्रको संस्थालाई सम्पर्क गरेर रकम प्राप्त गर्न सकिनेछ ।
उदाहरणका लागि यदि तपाई लस एन्जलसको अरेन्जमा हुनुहुन्छ भने तपाईले एसियन अमेरिकन एड्भान्सिंग जस्टिस वा कोलियसन फर ह्युमन इमिग्रयान्ट राइटमा सम्पर्क गर्नुपर्छ । लस एन्जसलमा हुनुहुन्छ भने सेन्ट्रल अमेरिकन रिसोर्स सेन्टरमा सम्पर्क गर्नुुपर्छ । नर्दन क्यालिफोर्नियामा हुनुहुन्छ भने क्यालिफोर्निया ह्युमन डेभलपमेन्ट कर्पोरेशनमा सम्पर्क गर्नुपर्छ ।
राज्यले कागजपत्रविहिनहरुलाई सघाउनका लागि यो प्रकारको राहतको सुरुवात गरेको यो पहिलो हो । न्युयोर्क सिटीमा पनि मेयरले यस्तै प्रकारको राहतको घोषणा गरेका त छन् तर त्यसको प्रकृया सुरु भइसकेको छैन ।
क्यालिफोर्नियामा यो रकम एकजनाले ५ सय डलरका दरले पाउनेछन् । त्यस्तै एउटा परिवारले एकहजार डलरसम्म प्राप्त गर्नेछन् । यो कोषमा राज्यका तर्फबाट ७५ मिलियन र बाँकी ५० मिलियन निजी सामाजिक संस्थाबाट व्यवस्था गरिएको छ । यो कार्यक्रमबाट झण्डै डेढलाख कागजपत्रविहिनले लाभ लिने अनुमान गरिएको छ ।
राहत रकम समाप्त नहुँदासम्म वा जुन ३० सम्ममात्र आवेदन स्वीकार गरिने भएकाले यथाशीघ्र आवेदन दिन सुझाव दिइएको छ ।
यदि तपाई अलमलमा पर्नुभएको छ भने तपाई बसेको क्षेत्रसहित खसोखासमा [email protected] इमेलमार्फत सम्पर्क गर्नुहोला । हामी आवश्यक सुचना उपलब्ध गराउनेछौं । समाचारमा इमेल देख्नुभएन भने समाचार ब्राउजर वा वेवसाइटबाट खोल्नुहोला ।