एकदुई हप्ता काममा फर्किएर वेरोजगार भएमा वा पार्ट टाइम काम सुरु भए विमा रकम के हुन्छ ?


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

न्युयोर्कमा यदि तपाई काम गुमाएर बेरोजगारी विमा रकम पाइरहनुभएको छ तर बीचमा एकदुई हप्ता काममा फर्कनुभयो तर पछि पुन बेरोजगार हुनुभयो भने के हुन्छ ? यस्तो अवस्थामा तपाईले बेरोजगारी विमा रकमबारे चिन्ता गर्नुपर्दैन ।

यदि तपाईले पूरै १०४ दिनको रकम पाउनुभएको छैन, यदि तपाईको सुविधा बर्ष सकिएको छैन र तपाईले गत हप्ता रकमका लागि दावी गरेको एकहप्ता नाघिसकेको छ भने तपाईले न्युयोर्कमा सामान्य तरिकाले नै साप्ताहिक प्रमाणिकरण सुरु गर्न सक्नुहुन्छ । अनलाइन वा फोनमार्फत साप्ताहिक प्रमाणिकरण गर्न सक्नुहुनेछ ।

यसो गर्दा तपाईले काम गरेको हप्ताको बाहेक आफू बेरोजगार भएको हप्ताको रकम प्राप्त गर्नुहुनेछ । तर कतिपय राज्यमा भने यसको नियम फरक फरक छ । तपाईले राज्यको डिपार्टमेन्ट अफ लेवरमा फोन सम्पर्क गर्नुपर्ने हुनसक्छ ।

यदि तपाईले बीचमा एक वा त्यो भन्दा बढी हप्ता छाडेर पुन प्रमाणिकरण गर्नुभयो भने तपाईले छुटेका हप्ताबारे प्रमाणिकरणका लागि इमेल प्राप्त गर्न सक्नुहुनेछ । यदि तपाईले ती हप्ताहरुमा काम गर्नुभएको थियो भने त्यसको उल्लेख गर्नुपर्छ ।

यदि तपाईले बेरोजगारी विमा रकम पाइरहनुभएको छ तर तपाई पार्टटाइम काममा फर्कनुभयो भने पनि तपाई बेरोजगारी विमा रकमका लागि योग्य हुनसक्नुहुन्छ । तर तपाईले साप्ताहिक प्रमाणिकरण गर्दा कतिदिन काममा फर्कनुभयो ? उक्त साता ५०४ डलर भन्दा बढी कमाउनुभयो कि भएन ? त्यसको जवाफ दिनुपर्छ ।

न्युयोर्कको सन्दर्भमा तपाईले ४ दिन भन्दा कम काम गर्नुभएको छ र तपाईले ट्याक्स कटाउनुभन्दा अगाडि साप्ताहिक ५०४ डलर भन्दा कम रकम प्राप्त गर्नुभएको छ भने तपाई आंशिक रुपमा बेरोजगारी विमा रकमका लागि योग्य हुनसक्नुहुनेछ । यदि तपाईले पाउने बेरोजगारी बिमा रकम कम्तीमा एकडलर छ भने तपाईले संघीय सरकारले दिने साप्ताहिक ६ सय डलर पनि पाउनुहुनेछ ।

यदि तपाई ४ दिन वा त्यो भन्दा बढी काममा फर्कनुभयो वा साप्ताहिक ५०४ डलरभन्दा बढी आम्दानी गर्नुभयो भने तपाई बेरोजगारी विमा रकमका लागि योग्य हुनुहुने छैन । यो नियम न्युयोर्क राज्यको हो । यसबारे फरक फरक राज्यमा फरक फरक नियम रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com