अन्य राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

कोरोनाको संक्रमण दर उच्च रहेका अन्य राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा आउनेहरुले अब अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले ट्राभल एड्भाइजरी जारी गर्दै तीनवटा राज्यसँग मिलेर संयुक्त रुपमा क्वारेन्टीनको नियम जारी गरिएको बताएका छन् ।

आफूहरुले कारोनाको संक्रमण घटाउन अत्यन्तै मिहिनेत गरेको र अन्य राज्यबाट आउनेहरुले संक्रमण ल्याएर फेरी बढ्ने अवस्था आउन नदिन क्वारेन्टीनको नियम लागु गरिएको कुमोले जनाएका छन् । यो नियममा कसैले छलछाम गर्न नपाइने र वास्तविकरुपमा नै नियम लागु हुने उनको भनाई छ ।

यसैबीच फ्लोरिडामा कोरोना संक्रमणका ५ हजार ५ सय नयाँ केसहरु रिपोर्ट गरिएको छ । बुधबार यो संख्या थपिएपछि अब उक्त राज्यमा संक्रमितको संख्या १ लाख ९ हजार १४ पुगेको छ । अमेरिकका २६ वटा राज्यमा कोरोना संक्रमितको संख्या बढेको देखिएको छ ।

टेक्सास, एरिजोना र नेभाडामा संक्रमितको संख्या उच्च बनेर नयाँ रेकर्ड कायम भएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्मका अरु १० राज्यमा पनि कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या उच्च रहेको छ ।

न्युयोर्क, मासाचुसेट्स, अलास्का, नर्थ डाकोटा, साउथ डाकोटा लगायतका राज्यमा संक्रमितको संख्यामा कमी आएको छ । नयाँ संक्रमितमध्ये न्युयोर्कबासीहरु जम्मा १ प्रतिशतको हाराहारीमामात्र रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com