अधिकारकाे सहभागीतामा नेल सलुन कामदारले सामना गर्नुपरेको चुनौतीबारे अन्तरक्रिया
प्रकाशित मिति : असार २२, २०७७ सोमबार
कोरोना भाइरसका कारण विश्वका हरेक तह र तप्का आक्रान्त भएपछि व्यवसाय पनि सबै ठप्प भयो । मानिसको दैनिकीमा निकै परिवर्तन आयो । दैनिक भाग दौडबाट केहि समय घर भित्रै सिमित भए मानिसहरु । कोरोना कहर न्युनिकरणसँगै कछुवा गतिले खुल्ने क्रममा छ विश्व बजार ।
सबै भन्दा प्रभावित अमेरिकाको न्युयोर्क शहर पनि तेस्रो चरण खुलीसकेको छ। यस बीचमा अमेरिकामा नेल सलुनमा काम गर्ने कामदारहरुले सामना गर्नु परेको चुनौती र व्यवसायमा परेको असर बारेमा भर्चुअल अन्तरक्रिया सम्पन्न भएको छ ।
एसेम्व्ली मेम्बर क्यातलिना क्रुज र काउन्सिल मेम्बर ड्यानियल ड्रोमले आयोजना गर्नु भएकाे सभा हलमा अमेरिकामा नेपाली भाषीको सामाजिक न्यायका लागि क्रियाशिल संस्था अधिकारकाे समेत सहभागीता रहेको थियो । चुनौती र असरका बारेमा आयोजकका तर्फबाट पवित्रा दासको प्रस्तुती रहेको थियो ।
विगत ८ बर्ष देखि नेल सलुन प्राबिधिकका रुपमा कार्यरत पवित्रा अधिकारमा नेल अभियानको आयोजक हुन् । अधिकारले महामारीको समय भर समुदायको सहयोग र समर्थनका लागि आफ्ना नियमित कामलाई स्थगित गरेर आपतकालिन राहत, सचेतना र क्वारेन्टिन सुविधाका लागि वकालत गरेको छ । १४ सय भन्दा बढी नेल सलुनका सदस्यहरु र तीनका परिवालाई सेवा पुर्याइएको आयोजक दासले बताइन् ।
उनी भन्छिन् -‘आफ्ना सदस्यहरुलाई समस्या पर्दा हामी सहयोगी भएर उभिएका हौ। कोरोनाका कारण हाम्रा सदस्यहरुले आफ्नो परिवारका सदस्य गुमाउनु पर्दा निक्कै मर्माहत भयौ तर बिचलित भएनौ। धेरै कुरा सिकायो यो महामारीले।’
बिरामी परेका सदस्यहरु र तीनका परिवारलाई अस्पताल पुग्न, टेष्ट गराउन र उचित क्वारेन्टिन सुबिधाहरुका लागि समेत अधिकारले सहयोग गरेको छ । सलुनका कामदारहरुले सतप्रतिशत रोजगारी गुमाउनु परेको उनी बताउँछिन् ।
डि ओ एल प्रणाली भित्र भाषा अवरोधका कारण बेरोजगार फारम भर्न र आपतकालीन राहतका लागि पनि अधिकारले मद्दत गरेको छ । नेल सलुनका संस्थापकका साथै साना व्यवसायीलाई सहयोग गर्न छाँया सी डि सी र बी ओ सीसँग पनि सहकार्य गरेको उनले बताइन् ।
उनी भन्छिन् – ‘धेरै नेल सलुन सदस्यहरूको सहयात्री उबर र लिफ्ट ड्राइभ गर्नुहुन्छ। वहाँहरू बेरोजगारीका सुबिधाहरु जटिलताको कारण नपाएर अझै सम्पूर्ण परिवारहरू सहित पर्खाईमा हुनुहुन्छ।’
‘महिलाहरू द्वारा संचालित साना व्यवसायहरू अथवा ती जो कम साक्षरता भएका छन् वा अस्थिर स्थितिहरू छन् ( जस्तै टीपीएस ) – उनीहरु धेरै पछाडि छन् किनभने उनीहरु संघीय वा स्थानीय राहत कोषहरूको लागि योग्य हुन सक्षम भएनन्। उनीहरु प्रतिस्पर्धी रहनको लागि आफ्नो सैलुन खोल्न चाहन्छन् तर सामग्री किन्नको लागि पैसा छैन। यी साना व्यवसायहरू कोविडको कारणले गर्दा धेरै चिन्तित छन्।’
‘कागजात नभएको र नयाँ आप्रवासी सदस्यहरू यस अवस्थाको सबैभन्दा कठिन स्तिथिमा हुनुन्छ। किनभने उहाँहरु बेरोजगारी वा कुनै सरकारी समर्थनको लागि योग्य हुनुहुन्न ।कल्पना गर्नुहोस उहाँहरु संग बच्चाहरूलाई खुवाउनको निम्ति एक पैसा पनि छैन ।’
समुदायमा आउन सक्ने मानसिक र शारीरिक स्वास्थ्यलाई मध्यनजर गर्दै कर्मचारी र अगुवाकर्ताहरुलाई मानसिक परामर्शकर्ता द्वारा तालिम प्रदान गरिनुका साथै नेपालीमा सूचना र परामर्शका लागि स्वयमसेवक डाक्टरहरूसँग एक रेफरल प्रणाली पनि सिर्जना गरेका बताईन्।
यसैबिच गर्भनर कुमोले ३ चरणमा सलुन खोल्ने घोषणा गरेसँगै नेल प्राबिधिकले केही राहत महसुस गरेका छन् । तर कागजपत्र बिहिन र टिपिएस बाहक नेल टेक्निशियनले पुनः रोजगार पाउने वा नपाउने भन्नेमा भने अन्योलता कायमै छ ।
करिब पचास जना नेल टेक्निशियनसँगको छलफल पश्चात भने २० प्रतिशतले स्वास्थ्य समस्याका कारण रोजगार परिवर्तन गर्न चाहेको र ८० प्रतिशतले काममा फर्कन चाहेको देखिन्छ।
तर रसायन जोखिम र स्वास्थ्य जोखिम न्युनिकरणका लागि कामदारलाई पीपीई (सानो व्यवसायका लागि राज्यद्वारा समर्थित), उचित भेन्टिलेटरको व्यवस्था, सलुनको रासायनिक व्यवस्थापन, सामाजिक दूरी, कार्य समय, उचित हात धुने व्यवस्था आदीमा ध्यान पुर्याउन जरुरी रहेको पवित्रा बताउँछिन् ।
अधिकारले नेपाली भाषी समुदायलाई व्यवस्थित ढंगले सेवा प्रदान गर्दै आप्रवासी अधिकार, कामदारहरूको अधिकार, स्वास्थ्य सेवामा पहुँच र भाषा न्यायका लागि काम गर्ने गर्दछ । जसको पाँच हजार बढी सदस्यहरु छन् ।