ट्रम्प समर्थित ‘तलबमा कर कटौती’ आगामी राहत प्याकेजमा समावेश नगरिने
प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार
अमेरिकामा आगामी चरणको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित तलबमा कर कटौतीलाई समावेश नगरिने भएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले रिपब्लिकन सांसदसँगको छलफलमा ह्वाइट हाउसले तलबमा कर कटौतीको एजेण्डालाई छाडेको पुष्टी गरेका छन् ।
सांसदहरुले आगामी राहत प्याकेजको ड्राफ्ट आज सार्वजनिक हुने अपेक्षा गरेका छन् । तर सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले भने बिलहरु आउन एकसातासम्म लाग्नसक्ने बताएका छन् । ट्रेजरी सेक्रेटरी मन्चिनले आफूहरुबीच आधारभूत सहमति भइसकेकाले भाषा मिलाएर लेख्नमात्र बाँकी रहेको बताएका छन् ।
अब रिपब्लिकनहरु डेमोक्र्याट्सहरुसँग सहमति कायम गर्ने चरणमा रहेका छन् । राष्ट्रपति ट्रम्पले तलबमा कर कटौती समावेश नभएको कुनै पनि बिल आफूले अस्वीकार गर्ने बताएपनि अन्तत यो एजेण्डाबाट पछाडि हटेका छन् ।
तलबमा कर कटौतीको साटो रिपब्लिकनहरु बार्षिक ७५ हजारभन्दा कम आम्दानी गर्नेहरुलाई १२ सय डलरको राहत चेक पठाउनेमा सहमत भएका छन् । यसअगाडि ४० हजारभन्दा कम आम्दानी भएकाहरुलाईमात्र राहत चेक पठाउनुपर्ने पक्षमा रिपब्लिनकहरु रहेपनि अब भने ७५ हजार भन्दा कम आम्दानी हुनेहरुलाई नै दिने पक्षमा देखिएका छन् ।
मन्चिनले तलबमा कर कटौतीबाट भन्दा सिधै चेक पठाउँदा अर्थतन्त्रमा छिटो सकारात्मक प्रभाव पर्ने बताएका छन् । तर दोश्रो चरणको राहत चेक भने अगस्त भन्दा अगाडि प्राप्त हुने सम्भावना भने निकै कम रहेको छ ।