चाइनिज जासुसलाई सान फ्रान्सिस्कोे कन्सुलेटमा लुकाइएको एफबीआईको दावी
प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार
बेइजिङको सेनासँग सम्बन्धित चाइनिज जासुस पक्राउ पर्नबाट जोगिनका लागि सान फ्रान्सिस्कोमा रहेको चाइनजि कन्सुलेटमा लुकेको एफबीआईले दावी गरेको छ । सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट कोर्टमा दायर गरिएको मुद्दामा भिसामा जालसाजीको अभियोग लागेकी उनलाई पक्राउ पर्नबाट जोगाउन सान फ्रान्सिस्कोमा रहेको कन्सुलेटमा लुकाइएको दावी गरिएको छ ।
अमेरिकाले टेक्सासमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न निर्देशन दिए लगत्तै यो नयाँ दावी आएको हो । अमेरिका र चाइनाबीचको तनाव बढ्दै गर्दा पछिल्ला घटनाक्रमले दुईदेशबीचको सम्बन्धमा अझ टकराव पैदा गरेको छ ।
अदालतमा दायर गरिएको मुद्दा अनुशार युनिभर्सिटी अफ क्यालिफोर्नियामा बायोलोजी रिसर्चर ताङ हुवानलाई गत जुन २० मा एफबीआईले बयान लिएको थियो । उनले भिसा आवेदनमा चाइनिज सेनामा आवद्ध नरहेको बताएपनि उनी चाइनिज सेनाको जासुस रहेको पत्ता लागेपछि भिसामा जालसाजीको अभियोग लगाइएको थियो ।
उनले चाइनिज सेनाको पोशाक लगाएका तस्वीहरु समेत भेटिएपछि खोज्दै जाँदा उनी चाइना एयर फोर्सको मेडिकल युनिभर्सिटीमा आवद्ध रहेको पत्ता लागेको थियो । एफएबीआईले बयान लिए लगत्तै उनी सान फ्रान्सिकोमा रहेको चाइनिज कन्सुलेट गएकी थिइन् । उनी त्यही लुकेको एफबीआईको विश्वास छ ।
एफबीआईसँगको अन्तरवार्ताका क्रममा उनले चाइनिज सेनासँग सम्बद्ध नरहेको युनभर्सिटीमा जानका लागिमात्र सैन्य पोशाक लगाएको बताएकी थिइन् । अदालतमा पेश गरिएको कागजातमा अरु दुईजना चाइनिज शोधकर्ताहरुले गलत विवरण दिएर भिसा फ्रड गरेको जनाइएको छ ।
चाइनिज सेनाले आफ्ना कर्मचारीहरुलाई विवरण ढाँटेर अमेरिकामा पठाएको कागजातमा आरोप लगाइएको छ । चाइनिज सेनाको निर्देशनमा अमेरिकाका संस्थाहरुबाट विवरणहरु चोर्ने र कपी गर्ने काममा उनीहरु संलग्न भएको समेत एफबीआईको दावी छ ।
रिपब्लिकन सिनेटर मार्को रुबीयो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट जासूसीको अखडा रहेको आरोप लगाएका छन् । के कारणले उक्त कन्सुलेट बन्द गर्न अमेरिकाले आदेश दिने अवस्था आएको हो भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन ।