बेलायती भ्याक्सिन आष्ट्राजेनेकाको रोकिएको परीक्षण सुचारु
प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार
तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेको बेलायती भ्याक्सिन आष्ट्राजेनेकाको रोकिएको परीक्षण सुचारु भएको छ । परीक्षण गरिएकामध्ये एकजना सिकिस्त बिरामी भएपछि छानविनका लागि भ्याक्सिनको परीक्षण स्थगित गरिएको थियो ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र आष्ट्राजेनेका कम्पनी मिलेर बनाएको यो भ्याक्सिन अगस्तको अन्तिमसातादेखि अमेरिकामा समेत परीक्षण सुरु गरिएको थियो । तर सेप्टेम्बर ६ मा यसको परीक्षण स्थगित गरिएको घोषणा गरिएको थियो । शनिबार आष्ट्राजेनेका र अक्सफोर्डले वक्तब्य जारी गरेर परीक्षण सुचारु गरिएको बताएपनि विदेशमा भइरहेका परीक्षणबारे केही बताएको छैन ।
आष्ट्राजेनेकाका सीईओले यो भ्याक्सिन सन् २०२० को अन्त्यसम्ममा उपलब्ध हुने बताएका छन् । परीक्षण गरिएका व्यक्तिको स्पाइनल कर्डमा समस्या आएका कारण स्थगित गरिएको बताइएपनि आष्ट्राजेनेकाले भने यसबारे केही बताएको छैन । व्यक्तिको गोपनियताका कारण स्वास्थ्यस्थीति बताउन नमिल्ने कम्पनीको भनाई छ ।
अहिलेसम्म यो भ्याक्सिन परीक्षणका क्रममा १८ हजार भन्दा बढीलाई दिइसकिएको छ । ३० हजारमा भ्याक्सिन परीक्षणका लागि तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरिएको हो । अमेरिकामा फाइजर र मोडेर्नाको तेश्रो चरणको क्लीनिकल परीक्षण पनि जारी छ ।
अहिले कोरोनाबिरुद्धका १७० वटा भन्दा धेरै भ्याक्सिनहरु प्रि क्लिनिकल अवस्थामा छन् । ती भ्याक्सिनहरु या त जनावरमा परीक्षण भइरहेका छन्, या त ल्याबमा परीक्षणका क्रममा रहेका छन् ।
१० प्रकारका भ्याक्सिनहरु अहिले पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । पहिलो चरणको परीक्षण अन्तरगत केही थोरै स्वास्थ्य व्यक्तिमा भ्याक्सिन परीक्षण गरिन्छ ।
विभिन्न १४ प्रकारका भ्याक्सिनहरु अहिले दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा बिरामीको उच्च जोखिममा रहेका लगायतका वृहतमात्रामा भ्याक्सीनको परीक्षण गरिन्छ । पहिलो चरणको तुलनामा धेरैजनामा परीक्षण गरिने भएपनि तेश्रो चरणको तुलनामा भने कममा परीक्षण गरिन्छ ।
विभिन्न सात प्रकारका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा दशौं हजारमा भ्याक्सीनको परीक्षण गरिन्छ । यो परीक्षणको अन्तिम चरण हो । यो चरणपछि भ्याक्सिनले प्रयोगका लागि आपतकालिन स्वीकृति पाउनसक्छ ।
अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइएको छैन । यो चरणमा पुगेपछि भ्याक्सिनलाई आमरुपमा प्रयोगका लागि स्वीकृति दिइन्छ । तर त्यसका लागि भ्याक्सिन सुरक्षित र प्रभावकारी सावित हुन जरुरी छ ।
पोलियोको भ्याक्सिन निर्माणका लागि ७ बर्षको अवधि लागेको थियो । सन् १९४८ देखि सन् १९५५ सम्मका विभिन्न परीक्षणबाट पोलियोको भ्याक्सिन निर्माण भएको थियो । विश्व स्वास्थ्य संगठनले मंगलबार अफ्रिकाबाट पोलियो उन्मुलन भएको घोषणा गरिसकेको छ ।
दादुराबिरुद्धको भ्याक्सिन निर्माण गर्न ९ बर्ष लागेको थियो । सन् १९५४ देखि सन् १९६३ मा विभिन्न खालका परीक्षणहरुपछि दादुराबिरुद्धको भ्याक्सिन निर्माण गरिएको थियो ।
ठेउलाबिरुद्धको भ्याक्सिन निर्माण गर्न ३४ बर्ष लागेको थियो । सन् १९५४ मा भ्याक्सिन निर्माणको काम सुरु भएको थियो । भ्याक्सिन निर्माणको काम सन् १९८८ मा सकिएको थियो ।
ह्युमन पेपिलोमा भाइरस एचपीभीबिरुद्धको खोप निर्माण गर्न १५ बर्ष लागेको थियो । सन् १९९१ मा यो खोप निर्माणको काम सुरुवात गरिएको थियो भने सन् २००६ मा सम्पन्न भएको थियो । यो असुरक्षित यौन सम्पर्कबाट सर्ने एकप्रकारको भाइरस हो ।