एसाइलम अन्तरवार्तामा नेपाली भाषा अनुवादक लैजान नपर्ने, सरकारले निशुल्क प्रदान गर्ने
प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार
अब युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली भाषा अनुवादक लैजान नपर्ने भएको छ । त्यस्ता नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ । यसअगाडि नै एसाइलम आवेदकलाई भाषा अनुवादकको आवश्यकता परेको खण्डमा आफै शुल्क तिरेर लैजानुपर्ने अवस्था रहेको थियो ।
नयाँ नियम अनुशार अबको १८० दिनसम्मका लागि अँग्रेजी नबोल्ने एसाइलम आवेदकले युएससीआईएसमा भाषा अनुवादक लैजानु नपर्ने भएको छ । आवेदकले उसले जान्ने ४७ वटामध्ये एउटा भाषामा अन्तरवार्ता दिन सक्नेछन् । ती ४७ भाषामा नेपाली समेत सुचिकृत गरिएको छ ।
युएससीआईएसले आज अस्थायी अन्तिम नियम घोषणा गर्दै कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि सरकारले नै भाषा अनुवादक उपलब्ध गराउने नियम ल्याएको हो । सरकारको सम्झौतामा रहेका त्यस्ता भाषा अनुवादकहरुले टेलिफोनमार्फत अनुवाद गर्नेछन् ।
सरकारले प्रदान गर्ने अनुवादकका लागि एसाइलम आवेदकले कुनै शुल्क तिर्नुपर्नेछैन । अनुवादकहरु कडा र सावधानीपूर्वक परीक्षण गरिएका, पृष्ठभूमि परीक्षण गरिएका, व्यवसायिक र प्रतिस्पर्धाबाट आएकाहरु हुने युएससीआईएसले जनाएको छ ।
सेप्टेम्बर २३ अर्थात् भोलिदेखि एसाइलम अन्तरवार्ताम जाँदा अनुवादक लैजानुपर्नेछैन । तर सन् २०२१ को मार्च २३ पछि भने अँग्रेजी नबोल्ने आवेदकहरुले भाषा अनुवादक आफै लैजानुपर्नेछ । यसबारेको अस्थायी अन्तिम नियम सेप्टेम्बर २३ मा फेडरल रजिस्टरमा प्रकाशित हुनेछ ।
यो नियम एसाइलम अफिसमा सकारात्मक एसाइलमका सन्दर्भमामात्र लागु हुनेछ । अदालतमा भने यो नियम लागु हुनेछैन ।